प्रचण्ड-माधवको चित्त दुख्ने गरि छेड नहान्न देउवाले दिए निर्देशन, गाँठो कस्न लागे कांग्रेसजन

  • प्रकाशित मिति : २०७८ फाल्गुन २४, मंगलवार
  • chhanbin.com

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका नेताहरुलाई सत्तारुढ गठबन्धन तलमाथि हुने गरी नबोल्न नदिन निर्देशन दिएका छन्।

स्थानीय तह निर्वाचनलक्षित अभियान ‘घरघर जाऔँ, नेपाली कांग्रेस जिताऔँ’ बारे छलफल गर्न मंगलबार बसेको शीर्ष नेतासहितको केन्द्रीय सदस्यहरुको बैठकमा उनले यस्तो निर्देशन दिएका हुन्।

बैठकमा सहभागी केन्द्रीय सदस्य कुन्दनराज काफ्लेका अनुसार प्रधानमन्त्री देउवाले विगतको निर्वाचन परिणाम स्मरण गर्दै नेताहरुलाई गठबन्धनमा रहेका दलहरुको चित्त दुख्ने गरी अभिव्यक्ति नदिन निर्देशन दिएका छन्।

‘सभापतिज्यूले एलाइन्स तलमाथि हुने गरी नबोल्न भन्नुभयो,’ काफ्लेले भने, ‘एलाइन्स नभए विगतमा हाम्रो पोजिसन थाहा पाइसकेका छौँ भन्नुभयो।’

छलफलमा प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचनमा केन्द्रित हुन पनि नेताहरुलाई निर्देशन दिएका छन्। उनले अमेरिकी सहायता परियोजना एमसीसीका बारेमा जनतामा छरिएका भ्रमहरु चिर्न पनि नेताहरुलाई निर्देशन दिएको काफ्लेले जानकारी दिए।

केही समययता कांग्रेसकै शीर्ष नेताहरुले गठबन्धनका सदस्य दलहरु माओवादी केन्द्र र एकीकृत समाजवादीबारे तिखो टिप्पणी गर्दै आएका थिए। उनीहरुले कांग्रेस ठूलो दल भएकाले आफ्नो अस्तित्व जोगाउन यी दुई पार्टीले आश्रय लिएको आशयका मन्तव्य सार्वजनिक मञ्चमा दिइरहेका थिए।