बलात्कारको बात् लागेर खोरमा थुनिएका पल शाह माथि गैडाकोट पुलिसले के-के मा लगायो खोट ?

  • प्रकाशित मिति : २०७८ फाल्गुन २४, मंगलवार
  • chhanbin.com

बलात्कारको केसमा हिरासतमा रहेका पल शाहमाथि अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गैडाकोटले पनि प्रकृया अगाडि बढाएको छ। फिल्म अभिनेता समेत रहेका पल अर्थात् पूर्ण विक्रम शाह यतिखेर जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा छन्।

जिल्ला प्रहरी कार्यालय तनहुँले पल शाहलाई अनुसन्धानका लागि हिरासतमा राख्‍न थप १२ दिन अनुमति पाएको छ। अनुसन्धानका केही पाटाहरु बाँकी भएकाले थप अनुसन्धान गर्न आइतवार प्रहरीले जिल्ला अदालतमा अनुमति मागेको थियो। पहिलो पटक सात दिनको अनुमति दिएको अदालतले दोस्रो पटक थप १२ दिनको म्याद थप गरेको हो।

२०७७ चैत ७ गते शाहले सुटिङको क्रममा गैडाकोट रिसोर्टमा जबर्जस्ती करणी गरेको उजुरीमा उल्लेख गरिएको छ। तनहुँमा उजुरी गर्ने र गैडाकोटमा उजुरी गर्ने पीडित किशोरी एकै हुन्। एउटै प्रकृतिको घटनामा शाह तनहुँ प्रहरीको हिरासतमा रहँदा नवलपरासीतर्फको अनुसन्धान प्रभावकारी रुपमा अगाडि बढ्न सकेको छैन।

‘अरु विषयमा अनुसन्धान भइरहेको छ। पीडितसँग बयान र यहाँ ल्याएर अनुसन्धान गर्ने विषयमा भने हामी सरकारी वकिलसँग छलफल गरिरहेका छौं,’ प्रहरी निरीक्षक लक्ष्मी पाण्डेले भनिनन्।

यस केसमा पीडितसँग नवलपरासी प्रहरीले बयान लिइसकेको छैन। बयानका आधारमा अरु अनुसन्धान अगाडि बढ्नेछ। एउटै प्रकृतिको घटना, पीडित र पिडक पनि उही नै भएकाले के गर्ने भन्ने विषयमा अहिले सरकारी वकिलसँग छलफल भइरहेको इलाका प्रहरी कार्यालय गैंडाकोट प्रहरी इन्चार्ज समेत रहेकी प्रहरी निरीक्षक पाण्डेले बताइन्।

त्यहाँ परेको उजुरीमा पनि १८ वर्ष नपुगेकी बालिकालाई प्रेम जालमा पारेर करणी गरेको उल्लेख छ। नेपालको कानुनमा १८ वर्ष नपुगी सहमतिमा पनि यौन सम्पर्क राख्‍नु अपराध हो। शाहले अपराध गरेको पुष्टि भएमा १० देखि १२ वर्षसम्म सजाय हुने व्यवस्था छ।

अपराध संहिता २०७४ अनुसार एउटै कसुरमा दोहोरो सजाय नहुने व्यवस्था छ। तर एकीकृत कसुर वापत् थप सजाय हुने व्यवस्था भने गरिएको छ।

गएको ९ दिनदेखि पल शाह तनुहँ प्रहरीको हिरासतमा छन्। घटनासँग सम्बन्धित देखे जानेका मानिससँग प्रहरीले यो अवधिमा बयान लिइसकेको छ। पल शाहसँग पनि बयान लिएको छ। अन्य घटनालाई पुष्टि गर्ने केही प्रमाणहरु पनि प्रहरीले संकलन गरिसकेको छ। तर, अझै केस बलियो बनाउन थप प्रमाण जुटाउन तनहुँ प्रहरी लागिपरेको छ।

पल शाह विरुद्ध एक किशोरीलाई जवर्जस्ती करणी र यौन दुर्व्यवहार गरेको उजुरी परेपछि पाँच दिनसम्म फरार रहेका शाह पछि आफै प्रहरीमा पुगेका थिए। फागुन १५ गते बिहान पीडित किशोरी र उनका बुबा इलाका प्रहरी कार्यालय गैंडाकोट पुगेर उजुरी दर्ता गराएका थिए।