सत्तारूढ दल नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन केन्द्रित घरदैलो अभियान सञ्चालन गर्ने भएको छ ।
प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले मंगलबार घरदैलो अभियान सञ्चालन गर्न निर्देशन दिएका हुन् । मंगलबार बिहान पार्टी केन्द्रीय कार्यालय पुगेका देउवाले पदाधिकारीहरूसँग छलफल गर्दै अभियान सञ्चालन गर्न निर्देशन दिएका हुन् ।
स्थानीय तह निर्वाचनकेन्द्रित ‘घरघर जाऔँ कांग्रेस जिताऔँ’ अभियानअन्तर्गत देउवाले घरदैलो अभियान सञ्चालन गर्न निर्देशन दिएको सहमहामन्त्री भीष्मराज आङदेम्बेले बाह्रखरीलाई जानकारी दिए ।
अभियानअन्तर्गत पार्टीले जिल्ला जाने प्रतिनिधि छनोट गर्ने कार्य गरिरहेको छ । “अहिले हामी प्रतिनिधि छनोट गर्ने काम गरिरहेका छौँ । सायद भोलि पत्रकार सम्मेलन गरेर हामी जानकारी गराउँछौँ,” उनले भने ।
आउँदो वैशाख ३० गते स्थानीय तह निर्वाचन हुँदै छ । कांग्रेसको फागुन पहिलो साता बसेको कार्यसम्पादन समितिको बैठकले फागुन २० गतेदेखि स्थानीय तह निर्वाचनकेन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । तर, विभिन्न कारण देखाउँदै देशभर एकसाथ अभियान सञ्चालन हुन भने सकेको थिएन ।