जनार्दनलाई पार्टीको चाबी दिएर बर्षमानलाई अर्थमन्त्री बनाउन प्रचण्ड किन कस्सिए ?

  • प्रकाशित मिति : २०७८ फाल्गुन २३, सोमबार
  • chhanbin.com

महाधिवेशन सम्पन्‍न भएको दुई महिनासम्म पनि पदाधिकारी चयन गर्न नसकेको नेकपा माओवादी केन्द्रले चाँडै पदाधिकारीको टुंगो लगाउने तयारी गरेको छ। स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा पार्टीको पदाधिकारी चयन हुन नसकेपछि पार्टीका गतिविधिहरु सञ्‍चालनमा समस्या भएपछि पदाधिकारीको टुंगो लगाउने गरी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तयारी थालेका छन्।

अध्यक्ष प्रचण्डलाई राष्ट्रिय सभागृहमा शुक्रबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकअन्तर्गत सोमबार हुने छलफलबाट नै पार्टीको महासचिवलगायतका पदाधिकारी टुंगो लगाउनुपर्ने दबाब छ।

माओवादी केन्द्रमा अध्यक्षपछिको कार्यकारी पद र प्रचण्डको उत्तराधिकारी पदको रुपमा महासचिवको पदलाई हेरिएपछि महासचिव चयन पेचिलो बन्दै गएको छ। महासचिवका लागि चार नेता वर्षमान पुन, जनार्दन शर्मा, पम्फा भुसाल र देव गुरुङले दाबी गरिरहेका छन्। तर, पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्राथमितामा भने नेता शर्मा र पुन मात्रै परेको माओवादीकै नेताहरुले दाबी गरेका छन्।

आजको बैठकमा गत शुक्रबार पेश भएका लिखित असहमति तथा फरक मतबारे खुल्ला छलफल हुने र पदाधिकारी छनोटका विषयमा गम्भीर छलफल हुने एक नेताले जानकारी दिए। उनका अनुसार अध्यक्ष प्रचण्डले वर्षमान पुनलाई अर्थमन्त्रालय र जनार्दनलाई पार्टीको महासचिवको जिम्मेवारी दिने गरी तयारी थालेका छन्।

उनले भने, ‘अध्यक्षज्यू (प्रचण्ड)ले वर्षमान पुनलाई अर्थमन्त्री र जनार्दन कमरेडलाई महासचिवको जिम्मेवारी दिने गरी तयारी थाल्नुभएको छ। उहाँले यसअघि पार्टीका शीर्ष नेताहरुसँगको छलफलमा कमरेड पुन लामो समयको अस्वस्थतापछि विस्तारै स्वास्थ्य लाभ गर्नेतर्फ रहेकोले महासचिव दिँदा बढी धपेडी हुने भएकोले जनार्दनलाई महासचिव बनाउने विकल्पबारे जानकारी गराउनुभएको थियो।’

अर्थमन्त्री शर्माले पोलिसी ह्याक गरेको भन्दै उनको चर्को आलोचना भइरहेको छ। यसअघि अर्थतन्त्रका सूचक आरोला लागेकोप्रति अर्थमन्त्री गम्भीर नभएको विषयले समेत उनी आलोचित भएका थिए। अर्थमन्त्रीको रुपमा शर्माको आलोचना भएपछि अध्यक्ष प्रचण्डले यसअघि अर्थ र उर्जामन्त्री भइसकेका पुनलाई अर्थमन्त्री बनाउन चाहेको माओवादीकै नेताहरुले बताइरहेका छन्।

यसअघि नेकपा माओवादीको केन्द्रको महाधिवेशन चलिरहेको समयमा पुन स्वास्थ्य उपचारका लागि चीन पुगेका थिए। अध्यक्ष प्रचण्डले महासचिवका आकांक्षी नै मुलुकबाहिर रहेको भन्दै अर्को बैठकबाट पदाधिकारी चयन गर्ने बताएका थिए। तर, दुई महिना बितिसक्दा पनि पदाधिकारी चयन गर्न सकेका छैनन्।