बलात्कारको कसुरमा मामाघर बसाईएका पल शाहलाई अझै १२ दिन जाकिने

  • प्रकाशित मिति : २०७८ फाल्गुन २२, आईतवार
  • chhanbin.com

नाबालिगमाथि जबरजस्ती करणी गरेको आरोपमा हिरासतमा रहेका अभिनेता पल शाहलाई थप १२ दिन थुनामा राख्न प्रहरीले अनुमति पाएको छ । आइतबार जिल्ला अदालत तनहुँले अभिनेता शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी युवराज खड्काले जानकारी दिए ।

अभिनेता शाहले आफूलाई बलात्कार गरेको जाहेरी नाबालिक गायिकाले ११ फागुनमा जिल्ला प्रहरी कार्यालय तनहुँमा दर्ता गरेकी थिइन् । जाहेरी दर्ता भएको चार दिनपछि १५ फागुनमा अभिनेता शाहले तनहुँ पुगेर प्रहरीसामू आत्मसमर्पण गरेका थिए ।

अभिनेता शाहले फकाइफुल्याइ बलात्कारको गरेको आरोप ती नाबालिक गायिकाले लगाएकी छिन् । नेपालको कानुनअनुसार १८ मुनिका बालबालिकासँग सहमतिमै शारीरिक सम्बन्ध राखे पनि त्यो बलात्कार ठहरिन्छ ।

यसअघि अदालतले सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । तर, अनुसन्धानका लागि समय नपुगेको भन्दै प्रहरीले आइतबार म्याद थपका लागि अदालतमा अभिनेता शाहलाई उपस्थित गराएको थियो । प्रहरीको माग अनुसार अदालतले शाहलाई थुनामा राख्न अनुमति दिएको हो ।