राष्ट्रियसभाका नवनिर्वाचित १९ माननीयले खाए सपथ, को-को हुन् सपथ खाने ?

  • प्रकाशित मिति : २०७८ फाल्गुन २१, शनिबार
  • chhanbin.com

नवनिर्वाचित राष्ट्रियसभा सदस्यले शपथग्रहण गरेका छन्। संसद सचिवालय, सिंहदरबारस्थित कानुन समितिको बैठक कक्षमा नवनिर्वाचित १९ सदस्यले शपथग्रहण गरेका हुन्। उनीहरुलाई राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शपथग्रहण गराएका हुन्।

गत माघ १२ गते भएको राष्ट्रियसभा सदस्य निर्वाचनमार्फत १९ जना निर्वाचित भएका थिए। सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने एकजना बाहेक १९ जनाको शपथ भएको हो। २० जना राष्ट्रियसभाका सदस्यको शुक्रबारदेखि कार्यकाल सकिएर बिदा भइसकेका छन्।

राष्ट्रिय सभामा प्रत्येक २ वर्षमा एक तिहाइ पद रिक्त हुन्छ। राष्ट्रियसभामा १९ सदस्यका लागि भएको निर्वाचनमा सत्ता गठबन्धनको वर्चस्व छ। जसमा नेपाली कांग्रेसबाट ६ जना, नेकपा माओवादी केन्द्रबाट र नेकपा एकीकृत समाजवादीबाट ५–५ जना निर्वाचित भएका छन्। यसैगरी, नेकपा एमाले, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबाट १–१ जना सदस्य निर्वाचित भएका छन्। १ जना भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने व्यवस्था छ।

शपथ लिने नवनिर्वाचित सदस्यमा जयन्तीदेवी राई, सोनाम गेल्जेन शेर्पा, गोपालकुमार बस्नेत, उर्मिला अर्याल, मोहम्मद खालिद, गोमादेवी तिमिल्सिना, कृष्णप्रसाद पौडेल, कमला पन्त, भुवनबहादुर सुनार, सुरेशकुमार आले मगर, राजेन्द्रलक्ष्मी गैरे, तुलप्रसाद विश्वकर्मा, युवराज शर्मा, दुर्गा गुरुङ, नरबहादुर विष्ट, उदयबहादुर बोहरा, मदनकुमारी शाह (गरिमा), जगतबहादुर पार्की र नारायणदत्त मिश्र छन्।