पाँच लाख विद्यार्थीले यसरी दिंदैछन् एसईई, यस्तो छ बोर्डको तयारी

  • प्रकाशित मिति : २०७८ फाल्गुन २०, शुक्रबार
  • chhanbin.com

यस वर्षबाट एसईईको उत्तरपुस्तिका प्रदेशले जाँच गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले प्रश्नपत्र तयार गरेर पठाएपछि प्रदेशले परीक्षा गराएर उत्तरपुस्तिका जाँच गर्ने भएको हो । प्रदेशले पठाएको नतिजालाई बोर्डले प्रमाणीकरण गर्नेछ ।

केही समयअघि प्रदेशले नतिजा प्रकाशन गर्ने र बोर्डले प्रमाणीकरण गर्ने सिफारिस राष्ट्रिय परीक्षा बोर्डले गरेको थियो । जिल्ला शिक्षा समन्वय इकाईबाट र प्रदेशसँग छलफल गरेर परीक्षाको जिम्मा प्रदेशलाई दिने निर्णयमा बोर्ड पुगेको थियो । बोर्डको उक्त सिफारीसलाई मन्त्रिपरिषद्‍ले पास गरेपछि यसै वर्षबाट उक्त कुरा लागु हुने भएको हो ।

यद्यपि, ९ वैशाखमा हुने परीक्षाको लागि अहिलेसम्म प्रश्नपत्र छपाईको काम सुरु भएको छैन । प्रश्नपत्र छपाई तयारीकै क्रममा रहेकोले केही समयमा प्रश्नपत्र छापिने बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए ।

शर्माका अनुसार प्रश्नपत्र छपाईको काम सुरक्षा घेराबीच हुनेछ । केन्द्रले नै प्रश्नपत्रको ‘हार्ड कपी’ सम्बन्धित ठाउँमा पठाउने तयारी गरेको छ ।

‘एसईईको प्रश्नपत्र हामीले ‘हार्ड कपी’ नै पठाउछौँ,’ शर्माले भने, ‘कक्षा १२ को हकमा भने अनलाइनबाटै प्रश्नपत्र पठाउन सकिन्छ । एसईईका सबै केन्द्रमा अनलाइन पहुँच नभएकोले त्यहाँ हार्ड कपी पठाउनुको विकल्प छैन ।’ एसईई दिने विद्यार्थी करीब पाँच लाख हाराहारीमा रहेको शर्माले बताए ।