सर्वोच्च अदालतमा पाँच महिनापछि आज शुक्रवार संवैधानिक इजलास बस्ने भएको छ। शुक्रबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले संवैधानिक इजलासको गठन गरेपछि ६ महिनापछि संवैधानिक इजलास बस्न लागेको हो।
सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार शुक्रवार नयाँ दर्ता भएका मुद्दाको पेसी तोकिनेछ भने हरेक बुधवार प्रक्रियामा रहेका मुद्दा हेरिनेछ। यसअघि प्रधानन्यायाधीश चन्द्रशमशेर जबराविरुद्ध आन्दोलन सुरु भएपछि सर्वोच्चमा संवैधानिक इजलास बस्न सकेको थिएन।
फागुन १ मा जबराविरुद्ध महाभियोग दर्ता भएर उनी निलम्बनमा परेसँगै १० न्यायाधीशबीचको छलफलबाट संवैधानिक इजलास पुनः बस्ने निर्णय भएको हो। कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले पहिलो पटक संवैधानिक इजलास गठन गर्न लागेका हुन्।