कांग्रेसको मधेश प्रदेश अधिवेशनमा क-कसको हुँदैछ भाले भिडन्त ? को कति बलियो ?

  • प्रकाशित मिति : २०७८ फाल्गुन १९, बिहीबार
  • chhanbin.com

पटक–पटक स्थगित हुँदै आएको मधेस प्रदेसको ८ जिल्लामा नेपाली कांग्रेसको अधिवेशन प्रक्रिया अगाडि बढेको छ। फागुन १५ गते हुने भनिए पनि एमसिसी सम्झौतामाथि संसदमा मतदान हुने भएपछि २० गतेका लागि सारिएको जिल्ला अधिवेशन प्रक्रिया मधेस प्रदेसका जिल्लाहरूमा अगाडि बढेको हो।

आन्तरिक विवाद र कोरोना महामारीका कारण स्थगित हुँदै आएका अधिवेशन सम्पन्न गर्न मधेस प्रदेसका अधिकांश जिल्लाहरूमो बिहीबार मनोनयन भैरहेको छ भने केहीमा मतदानको तयारी गरिएको छ।

धनुषा, महोत्तरी, रौतहटमा मनोनयन दर्ता भैरहेको छ भने पर्सामा भने नयाँ नेतृत्व चयन गर्न बिहीबार मतदान हुने भएको छ। मधेस प्रदेसको सम्पन्न भएलगत्तै पुस २८ का लागि जिल्ला अधिवेशन तोकिएको थियो। कोरोना संक्रमण बढेपछि जिल्ला अधिवेशन माघ २५ का लागि सारिएको थियो।

तर, राष्ट्रियसभा निर्वाचनका कारण दोस्रोपटक तोकिएको जिल्ला अधिवेशन पनि सरेको थियो।

एक सभापति, दुई उपसभापति, दुई सचिव, दुई सहसचिव र खुला तथा समावेशीगरी ८४ सदस्यसहित कुल ९१ पदका लागि निर्वाचन हुनलागेको हो। कोषाध्यक्ष भने निर्वाचित सदस्यमध्ये एकजनालाई सभापतिले मनोनित गर्ने व्यवस्था छ।

कुन जिल्लामा के हुँदैछ?

सप्तरी

अन्य जिल्लाहरूमा बिहीबार मनोयन दर्ता भैरहँदा सप्तरीमा भने बुधबार नै उम्मेदवारी दर्ता भएको छ। राजविराजस्थित औद्योगिक क्षेत्रमा स्थापना भएको निर्वाचन कार्यालयमा बुधबार मनोनयन दर्ता भएको हो।

सप्तरीमा कांग्रेस सभापतिका लागि रामदेव साह र शत्रुध्न यादवले प्यानलसहित उम्मेदवारी दर्ता गराएका हुन्। संस्थापनबाट यादव र इतर समूहबाट साहको उम्मेदवारी दर्ता भएको छ। शुक्रबार हुने मतदानका लागि दुवै पक्षका उम्मेदवारले प्रचार–प्रसारलाई तीब्रता दिएका छन्।

सिरहा

फागुन २० गतेका लागि तोकिएको जिल्ला अधिवेशनका लागि सिरहामा विवाद देखिएको छ। अधिवेशनस्थल तोक्न विवाद देखिएपछि त्यहाँ निर्वाचन कार्यक्रमसमेत प्रकाशित हुनसकेको छैन।

सिरहामा सभापतिका लागि रामचन्द्र यादव र रामसुन्दर चौधरीले उम्मेदवारी घोषणा गरेका छन्। सभापतिका लागि दावेदारी गरिरहेका यादव र चौधरी दुवै संस्थापननिकट हुन्।

वर्तमान सभापतिसमेत रहेका यादवले अधिवेशनस्थल पूर्वपश्चिम राजमार्गको गोलबजारमा तोक्न खोजेपछि त्यहाँ विवाद भएको हो। अर्को पक्षले जिल्लाको सदरमुकाम सिरहामा अधिवेशनस्थल तोक्न माग गरेको छ।

सभापतिका प्रत्याशी चौधरीले सुरूदेखि सदरमुकाममै अधिवेशन हुँदै आएकोले अहिले मतदानस्थल परिवर्तन गर्ने आफूहरूलाई मान्य नरहेको बताए।

‘सदरमुकाममा पार्टीको आफ्नै कार्यालय छ, सुरक्षा व्यवस्था मिलाउन पनि सहज हुन्छ,’ उनले भने,‘अहिले सभापतिले विनाकारण मतदानस्थल सार्न खोज्नुभएको छ। केही कारण पनि बताउनु भएको छैन। हामीलाई यो मान्य हुँदैन।’ चौधरीले जबरजस्ती मतदानस्थल परिवर्तन गरिए आफूहरूले अधिवेशन बहिष्कार गर्ने बताए।

धनुषा

जिल्लाको नयाँ नेतृत्व चयन गर्न हुने निर्वाचनका लागि धनुषामा बिहीबार मनोनयन दर्ता भैरहेको छ। जनकपुरधाम–४ पिडरियामाइस्थित पार्टी कार्यालयमा मनोनयन पत्र दर्ता भैरहेको हो।

धनुषामा सभापतिका लागि तीनजनाले उम्मेदवारी दिने घोषणा गरेका छन्। त्यहाँ संस्थापनबाट वर्तमान उपसभापति सन्तोष यादव, निधि समूहबाट योगेन्द्र पजियार र शेखर समूहबाट दिनेश प्रसैलाले उम्मेदवारी घोषणा गरेका हुन्।

निधि समूहबाट उम्मेदवारी घोषणा गरेका पजियार क्षिरेश्वरनाथ नगरपालिकाका मेयर हुन भने शेखर समूहका प्रसैला संविधानसभा सदस्य छन्। धनुषामा तीनै उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। धनुषामा २३ गते मतदान हुने जिल्ला निर्वाचन समितिले जनाएको छ।

महोत्तरी

महोत्तरीमा सभापतिका लागि तीनजनाको उम्मेदवारी परेको छ। महोत्तरीमा बुधबार मनोनयन दर्ता भएको हो। सभापति पदका लागि नागेश्वर यादव, बजरंग नेपाली र सुशील यादवले उम्मेदवारी दर्ता गराएका छन्।

नागेश्वर र सुशील दुवै संस्थापन पक्षका हुन्। नागेश्वरलाई शेखर समूहले पनि सहयोग गरेको छ भने सुशीललाई वर्तमान सभापति महेन्द्रकुमार रायले समर्थन गरेका छन्। महोत्तरीमा शुक्रबार मतदान हुँदैछ।

सर्लाही

कांग्रेस महाधिवेशनका क्रममा मधेस प्रदेशमा सबैभन्दा बढी विवादित रह्यो सर्लाही। वडा अधिवेशनदेखि सुरू भएको विवादका कारण १४ औं महाधिवेशनमा सर्लाही सहभागी नै हुन नसक्ने सम्भावनासमेत देखिएको थियो।

अन्त्यमा जिल्ला अधिवेशन थाति राखेर क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि छनौट भए। संघीय सांसद अमरेशकुमार सिंह र वर्तमान जिल्ला सभापति नागेन्द्रकुमार राय दुवैजना महाधिवेशन प्रतिनिधिमा पराजित भए।

सर्लाही क्षेत्र नम्बर ४ को दुई वडामा अधिवेशन रोकिएपछि जिल्ला अधिवेशन पनि प्रभावित हुने सम्भावना बढेको थियो।

बाँकी रहेका दुई वडामा बिहीबार मनोनयन दर्ता गरेर शुक्रबार चुनाव गर्ने सहमति भएपछि त्यहाँ जिल्ला अधिवेशन गर्ने वातावरण तयार भएको कांग्रेसका एक नेताले बताए।

त्यसैगरी जिल्ला अधिवेशनका लागि शनिबार मनोनयन दर्ता गरेर २३ गते मतदानका लागि मिति तोकिएको छ।

सर्लाही कांग्रेस सभापतिका लागि शेखर कोइराला समूहबाट पूर्वसभापति लक्ष्मण राय र संस्थापनबाट बहालवाला उपसभापति सुरेन्द्रप्रसाद सिंहले उम्मेदवारी घोषणा गरेका छन्।

ठेकेदारीबाट राजनीतिमा आएका सिंहलाई आफू सभापति हुँदा रायले नै पहिलोपटक उपसभापति बनाएका थिए। अघिल्लो अधिवेशनसम्म उनी रायकै पक्षमा थिए।

तर, राय पराजित भएर सभापतिमा नागेन्द्रकुमार राय निर्वाचित भएपछि समूह परिवर्तन गरेर सिंह नागेन्द्रतर्फ लागेका थिए। समूह परिवर्तन गरेर आएका सिंहलाई नागेन्द्रकुमारले उपसभापतिमा मनोनित गरेका थिए।

रौतहट

रौतहटमा सभापतिका लागि हृदयनारायण यादव र सुनिल यादवबीच प्रतिस्पर्धा हुने देखिएको छ। सुनिल संस्थापनबाट उम्मेदवार बनेका छन् भने हृदयनारायणलाई शेखर–निधि समूहको समर्थन छ।

रौतहटका कांग्रेस नेताहरूका अनुसार दुवै उम्मेदवारबीच कडा प्रतिस्पर्धाको संभावना देखिएको छ।

बिहीबार उम्मेदवारी दर्ता भैरहेको रौतहटमा शनिबार मतदानको मिति तोकिएको छ। शनिबार मतदानको मिति तोकिए पनि चुनाव सर्नसक्ने एक नेताले बताए।

‘अहिलेसम्मका लागि मतदानको मिति २१ गते नै हो। तर, केही समस्याहरू देखिएका छन् त्यसकारण चुनाव सर्ने सम्भावना देखिएको छ,’ एक नेताले बताए।

बारा

बारामा सभापतिका लागि त्रिपक्षीय प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ। संस्थापन पक्षकै तीनजना सभापतिका लागि उम्मेदवारी दिएपछि त्यहाँ त्रिपक्षीय प्रतिस्पर्धाको सम्भावना बढेको हो।

सभापतिका लागि शम्भु बुढाथोकी, राजेश्वर यादव र रामानन्द मिश्रले उम्मेदवारी दिएका छन्। स्थानीय एक नेताकाअनुसार शेखर समूहले सभापतिका उम्मेदवार मिश्रलाई सघाउने भएका छन्। बारामा २१ गते मतदान हुने बताइएको छ।

पर्सा

मधेस प्रदेशका अरू जिल्लाहरूमा मनोनयन दर्ता प्रक्रिया अगाडि बढिरहँदा पर्सामा भने बिहीबार मतदान भैरहेको छ। बुधबार मनोयन दर्ता भएको पर्सामा मतदान हुनलागेको हो।

पर्सामा पनि सभापतिका लागि द्विपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ। संस्थापनबाट जनार्दनसिंह क्षेत्री र शेखर समूहबाट श्याम पटेलले सभापतिमा उम्मेदवारी दिएका छन्। कांग्रेसको नयाँ नेतृत्व चयन गर्न पर्सामा अहिले मतदान भैरहेको छ।