कांग्रेसले स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल नगर्ने

  • प्रकाशित मिति : २०७८ फाल्गुन १८, बुधबार
  • chhanbin.com

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल नहुने संकेत गरेका छन् । नेपाली कांग्रेसका प्रवक्ता महतले सत्तारुढ दलहरूबीच स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गरेर जाने अवस्था आफूले नदेखेको बताएका छन् ।

बुधबार न्यूज एजेन्सी नेपालसँग संक्षिप्त कुराकानी गर्दै उनले स्थानीय आवश्यक्तालाई ध्यानमा राखेर स्थानीय तहको निर्वाचन सम्पन्न हुने भएकाले दलहरूले आ–आफ्नै ढंगले उम्मेदवारी दिने बताए । तर, यस विषयमा सत्तारुढ दलभित्र भने कुनै छलफल भइनसकेको उनको भनाइ छ ।

प्रवक्ता महतले आवश्यक्ताको सिद्धान्त र आ–आफ्नै फाइदाको सिद्धान्तअनुसार स्थानीय तहको निर्वाचनमा दलहरू जुटनुपर्ने अवस्था रहेको दोहोर्‍याए । स्थानीय तहको निर्वाचन तोकिएको समयमा हुनेमा आफ्नो पार्टी विश्वस्त रहेको उल्लेख गर्दै उनले त्यसका लागि सरकार अघि बढिसकेको उल्लेख गरे ।

प्रवक्ता महतले भने, ‘गठबन्धनमा एमसीसीको विषयलाई लिएर जुन संकट आएको थियो । त्यसमा समझदारी विकसित भईसकेपछि यो संकट टरेको छ । र, त्यो अव स्वभाविक रुपमा यो गठबन्धन अगाडि बढछ । अव बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ ।’

उनले स्थानीय तहको आफ्नै विशिष्ट परिवेश र परिस्थिति रहेको भन्दै यो केन्द्रीय नेतृत्वले नै सम्पूर्ण कुरा बाँडफाँड गर्नु अव्यवहारिक हुने बताए । उनले कांग्रेसको विधानतः पनि त्यो सम्भव नरहेको बताए ।

प्रवक्ता महतले प्रमुख प्रतिपक्ष दल एमालेलाई सहमतिमा लिएर संसद सूचारु गराउन आफ्नो पार्टीले प्रयास जारी राख्ने पनि बताए । उनले सभामुख अग्निप्रसाद सापकोटा र माधव नेपालसहितका १४ जना सांसदको विषय अदालतमा विचाराधीन मुद्दा भएकाले त्यसलाई छाडेर एमालेले संसद सूचारु गराउन पुनर्विचार गर्नुपर्ने बताए ।

चालु अधिवेशन अन्त्य गरेर आगामी बजेट अधिवेशनमा विपक्ष दलको सक्रिय सहभागिता आवश्यक भएकाले पनि एमालेलाई सहमतिमा ल्याएर संसद सुचारु गराउन आफ्नो पार्टीले प्रयास जारी राख्ने उनको तर्क थियो । प्रवक्ता महतले एमालेलाई सहमतिमा ल्याएर संसद सुचारु गराउन प्रधानमन्त्री शेरबहादुर देउवा आफैंले संवादलाई निरन्तरता दिने बताए ।