सभामुख र माधवको पद एमसीसीसँग साटेर राष्ट्रघातलाई सुनपानी छर्किएको भन्दै कड्किए ओली

  • प्रकाशित मिति : २०७८ फाल्गुन १७, मंगलवार
  • chhanbin.com

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरूले एमसीसीमा राष्ट्रघात भएको व्याख्या गरेको र त्यसो भएको भए सभामुख र माधव नेपालको पद एमसीसीसँग किन साटेको भनेर प्रश्न गरेका छन् ।

संसदबाट एमसीसी अनुमोदन भएपछि त्यसबारे आफ्नो धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा ओलीले भने, ‘सत्ता जोगाउनको लागि, सभामुख र माधव नेपालको पद जाने भएपछि एमसीसी पारित भयो । राष्ट्रघात भएको भए उनीहरूको पद त्यससँग साटिन सक्छन् ?’

गठबन्धनका नेताहरूले नेपाली जनतालाई तर्साउन धम्क्याउन खोजेको आरोप पनि ओलीले लगाए । ‘धम्क्याएर, त्रसित बनाएर आफ्नो कुरा माथि पार्न खोजिएको देखिन्छ,’ ओलीले भने । राष्ट्रिय हित प्रतिकूल नभएका वैदेशिक सहायता र ऋण स्वीकार गर्न एमालेलाई समस्या नहुने उनले बताए ।

केपी ओलीलाई सरकारबाट हटाउन र जस नदिनको लागि एमसीसी रोकिएको र सरकारबाट हटाएपछि अनुमोदन गरिएको ओलीले बताए ।
‘केपी ओलीलाई जस किन दिने, नयाँ सरकार बनाउन तुरुन्त पास गर्छौं भनेर गठबन्धन लागेको थियो,’ ओलीले भने, ‘सरकारले सुटुक्क लागू गर्थ्यो तर, एमालेले संसदमा पेश गरेर गल्ती गर्‍यो ।’

अमेरिकाले नै एमसीसी संसदबाट अनुमोदन गर्नुपर्ने भनेको पनि ओलीले बताएका छन् । ‘अमेरिकाको प्रक्रियामा एमसीसी संसदबाट अनुमोदन हुनुपर्छ भन्ने भनाइ र दृष्टिकोण थियो । यो भनाई दुई पक्षीय हो,’ ओलीले भने, केपी ओली नेतृत्वको संसदमा पेश गरेर गल्ती गरियो र प्रदीप ज्ञवाली अमेरिका गएर आईपीएसको अंग बनाइयो भन्ने हल्ला निर्लज्ज ढंगले चलाइयो ।’

सभामुख अग्नि सापकोटाले एमसीसीबारे आवेग र उत्तेजनापूर्ण अभिव्यक्ति दिएको उनले बताए । ‘पेश गर्न भन्दा त मर्न तयार छु, मारिन तयार छु भन्ने आवेगपूर्ण उत्तेजना सभामुखबाट आयो । असाधारण देशद्रोह राष्ट्रघात भयो भनियो’, ओलीले भने ।