माओवादी केन्द्रको संसदीय दलकाे बैठकमा एमसीसीबारे ११ बुँदे व्याख्यात्मक टिप्पणी वाचन गरिएको छ । प्रमुख सचेतक देवप्रसाद गुरुङले ११ बुँदे व्याख्या वाचन गरेका हुन् ।
गुरुङले वाचन गरेका बुँदाहरुमा एमसीसीभन्दा नेपालकाे संविधान माथि हुने, एमसीसी आईपीएसकाे अंग नबन्ने, बाैद्धिक र चलअचल सम्पत्ति नेपालकै हुने लगायतका कुराहरु समावेश छन् । एमसीसीलाई नेपालकाे महालेखा परीक्षणकाे कार्यालयले लेखा परीक्षण गर्नेलगायत कुराहरु समेत समेटिएको छ ।
अहिले अध्यक्ष पुष्पकमल दाहालले सम्बाेधन गरिरहेका छन् । प्रचण्डले एमसीसी अनुमोदनको विपक्षमा उभिँदा एमाले र कांग्रेस मिलेर सभामुख हटाउने तथा माधव नेपालसहित १४ सांसदको पद खारेज हुने भएकाले व्याख्यात्मक टिप्पणीसहित अनुमोदनको निर्णय गरिएको बताएका छन् ।
माओवादी संसदीय दलको बैठकमा सांसदहरूलाई कन्भिन्स गर्दै प्रचण्डले गठबन्धन र संविधान जोगाउन एमसीसी पास गर्ने निर्णय भएकाले यसलाई गलत अर्थमा नबुझ्न आग्रह गरेका हुन् ।
प्रचण्डको भनाइ उदृत गर्दै एक सांसदले भने, ‘तपाईंहरूले देखिहाल्नुभयो गठबन्धन भत्काउन केपी ओलीले कति अग्रसरता देखाए । बालकोट र बालुवाटारको उठबस बाक्लियो । यसबाट हामीले संघर्ष गरेर बनाएको प्रतिगमनविरोधी गठबन्धन भत्किने, संविधान संकटमा पर्ने र केपी ओली फेरि हाबी हुने भए ।’
गठबन्धन पनि जोगिने र एमसीसी पनि समाधान हुनेगरी व्याख्यात्मकटिप्पणीको निर्णय भएको र यसलाई मन्त्रिपरिषद्ले पारित गरेर संसदमा लगिने उनले बताए ।