बलात्कारको आरोप लागेका नेकपा (एमाले)का नेता तथा मुगुका सांसद मोहन बानियाँ प्रहरीको सम्पर्कमा आएका छन् । जिल्ला अदालत बाँकेले पक्राउ पुर्जी जारी गरेपछि सम्पर्कविहीन भएका बानियाँ प्रहरीको सम्पर्कमा आएका हुन् ।
प्रहरी सम्पर्कमा पुगेका बानियाँ आजको संसद बैठकमा सहभागी हुन संसद भवन पुगिसकेका छन्। ढाकाटोपीमा सजिएर संसद पुगेका बानियाँको फुर्तिफार्ती बढेको संसदका एक कर्मचारीले बताए।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी मधुसूदन न्यौपानेले पूर्वमन्त्रीसमेत रहेका बानियाँले प्रहरीलाई सम्पर्क गरेर केही दिनमै प्रहरी कार्यालयमा उपस्थित हुने जानकारी गराएको बताए ।
‘‘हामीले प्रक्रिया अगाडि बढाउन सबै काम सकिसकेका छौँ । सांसद बानियाँले हामीलाई खबर गरेर केही दिनमा आउने भन्नुभएको छ । एमसीसीलगायत सदनका काम सकाएर म आफैँ आउँछु भन्नुभएको छ । नआए हामी आफ्नो तरिकाले पक्राउ गर्छौँ,” डीएसपी न्यौपानेले भने ।
यही फागुन ४ गते जुम्लाकी एक शिक्षिकाले सांसद बानियाँले बाँकेस्थित अप्सरा होटेलमा आफूमाथि जबरजस्ती करणी गरेको भनी मुद्दा दायर गरेकी थिइन् । त्यसपछि जिल्ला अदालत बाँकेले उनलाई पक्राउ गर्न आदेश दिएको थियो । अदालतले उनलाई पक्राउ गर्न आदेश दिए पनि सांसद बानियाँ प्रहारीको सलाम खाँदै संसद भवन पुग्नुलाई धेरैले अचम्म मानेका छन्।