फेरि एउटा जनयुद्ध लड्छु भन्दै प्रचण्डले यसरी घुर्क्याए

  • प्रकाशित मिति : २०७८ फाल्गुन १४, शनिबार
  • chhanbin.com

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि एउटा जनयुद्ध लड्नुपर्ने बेला आएको बताएका छन्। शहीद दिलबहादुर रम्तेलको स्मृति दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)कै कारण सत्तारुढ गठबन्धन टुटाउने र प्राप्त उपलब्धी समाप्त पार्ने प्रयास भइरहेको भन्दै जनयुद्ध लड्ने बेला आएको बताएका हुन्।

‘फेरि एउटा जनयुद्ध लड्नैपर्ने भयो। हामीले संविधान, गणतन्त्र र सबै उत्पीडित वर्ग, जातिले पाएका अधिकारहरु खोस्ने षडयन्त्र भईराखेको छ भनेर अपिल गर्‍यौं र लाखौं जनता सडकमा आएपछि एउटा खालको सफलता फेरी हामीलाई प्राप्त भयो,’ प्रचण्डले भने, ‘अहिले हामी गठबन्धनको रुपमा साझा न्यूनतम कार्यक्रम बनाएर उत्पीडित वर्ग, जाति, क्षेत्र समूदायका जनताको हक, अधिकारीर्ला अझ व्यवस्थित गर्ने प्रयास गर्दैछौं। तर अहिले फेरी एमसीसी भन्ने एउटा परियोजनाले कतै यो लामो संघर्ष र धेरै ठूलो मेहनतपछि जे प्राप्त भएको सफलता गुम्ने त होईन भन्ने जस्तो स्थिति आजको दिनमा देखा परेको छ,’प्रचण्डले भने।

एमसीसी परियोजना यथास्थितिमा पारित हुन नदिने विषयमा आफूहरुले सुरु देखि नै प्रष्ट धारणा राख्दै आएको दाहालले बताए। उनले सत्तारुढ गठबन्धन टुट्न नदिन आफूहरु गम्भीरताका साथ लागि परेको समेत बताएका छन्। एमसीसीकै कारण सत्तारुढ गठबन्धन टुट्ने खतरामा रहेको तर गठबन्धन जोगाउने उपायहरुको खोजी रहेको उनले बताएका हुन्।

‘हामीले कहिँ न कहीँ यो गठबन्धन बचाऔं। एमसीसीको पनि समस्या समाधान होस्, गठबन्धन पनि नटुटोस भन्ने कुनै त्यस्तो उपाय छ त भनेर छलफल गरिरहेका छौं’ उनले भने।