सातामा सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले बढ्यो

  • प्रकाशित मिति : २०७८ फाल्गुन १४, शनिबार
  • chhanbin.com

यो सातामा सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले साताको ६ कारोबार दिनमा उक्त मूल्यले सुनको भाउ महँगिएको जानकारी दिएको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ५०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा प्रतितोला ९८ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यो साताको सोमबार र बुधबार बाहेक अन्य सबै दिन सुनको मूल्य बढेको थियो । यसैगरी, हिजो शुक्रबारसम्ममा तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रुपैयाँ मूल्य कायम छ । सुनको मूल्य बढेको सातामा चाँदीको मूल्य पनि बढेको छ । यो साताभरमा चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले बढेको छ । गत साताको शुक्रबार तोलामा १३०५ रुपैयाँ रहेको चाँदीको मूल्य हिजो शुक्रबार १३३५ रुपैयाँ छ ।

रुसले युक्रेनमाथि सैन्य हमला सुरू गरेसँगै विश्वव्यापीरूपमा सुनको मूल्य उकालो लाग्दा त्यसको प्रभाव नेपालमा पनि परेको हो । रुस–युक्रेन युद्ध सुरू भएसँगै विश्वबजारमा सुनसँगै खाने तेल र पेट्रोलियम पदार्थ तथा अन्य औद्योगिक कच्चा वस्तुको मूल्य बढेको छ ।