शिक्षकको परीक्षा हुन अब एक महिना मात्र बाँकी, कसरी हुँदैछ शिक्षक सेवा आयोगको परीक्षा ?

  • प्रकाशित मिति : २०७८ फाल्गुन १४, शनिबार
  • chhanbin.com

चैतमा सञ्चालन गर्ने भनिएको शिक्षकहरूको परीक्षाका लागि शिक्षक सेवा आयोगले आन्तरिक तयारी तीव्र पारेको छ । परीक्षा आउन करिब एक महिना मात्र बाँकी रहँदा आयोगले आफ्नो काममा तीव्रता दिएको हो ।

आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाका अनुसार प्रश्नपत्रको तयारीलगायतका कामहरू भइरहेको छ । त्यस्तै, परीक्षार्थीको संख्या हेरेर केन्द्र बाँडफाँट गर्ने काम भएको छ । बागमती प्रदेशले मकवानपुरमा तोकिएको परीक्षा केन्द्र टुक्र्याएर चितवन सारेको छ । चितवनमा नेपाली र अंग्रेजीको परीक्षा हुन लागेको हो ।

यस्तै, अन्य प्रदेश निर्देशनालयले पनि परीक्षार्थीको संख्या हेरेर केन्द्रहरू हेरफेर गर्न सक्ने मरहठ्ठा बताउँछन् । उनका अनुसार हालसम्म प्राथमिक तहमा १ लाख १५ हजार ३ सय ८१ जनाले आवेदन दिएकोमा १ लाख १४ हजारले प्रवेशपत्र लिइसकेका छन् ।

त्यस्तै, निम्नमाध्यमिक तहमा ८८ हजार ५ सय १९ जनाले आवेदन दिएकोमा ८५ हजार ७ सयले प्रवेशपत्र लिएका छन् । माध्यमिक तहमा ३६ हजार ५ सय ८२ जनाले आवेदन दिएकोमा ३५ हजार ५ सय ६० जना परीक्षार्थीले प्रवेशपत्र लिएका छन् ।

आयोगले १५ चैतमा मावि तहको परीक्षा हुँदैछ । त्यस्तै, चैत १७ गते निमावि र १९ गते प्रावि तहको परीक्षा लिँदैछ । मरहट्ठाका अनुसार आयोगले प्रदेशगत रूपमा विज्ञापन खुलाएको हो । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बनेको प्रदेशस्तरीय परीक्षा सञ्चालन समन्वय समितिले परीक्षा सञ्चालन गर्नेछ ।