अझै यी दर्जन इन्स्योरेन्सको सेयर किन्दा पाइन्छ लाभांश, कति हात पर्छ ?

  • प्रकाशित मिति : २०७८ फाल्गुन १४, शनिबार
  • chhanbin.com

नेप्सेमा सूचीकृत अधिकांश कम्पनीहरुले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट लाभांश घोषणा गरेका छन् । बीमा क्षेत्रका कम्पनी बाहेक अन्य क्षेत्रका अधिकांश कम्पनीहरुले साधरण सभा समेत गरिसकेका छन् ।

हालसम्म लाभांश घोषणा गरेकामध्ये १२ बीमा कम्पनीले भने साधरण सभा प्रयोजनका लागि अझै बुकक्लोज गरेका छैनन् । तसर्थ, अझै यी कम्पनीको सेयर किन्दा लाभांश पाइन्छ । हिमालयन जनरल, एनएलजी, नेको, सिद्धार्थ, आइएमई जनरल, प्रुडेन्सियल, लुम्बिनी जनरल, प्रभु, नेशनल लाइफ, एभरेष्ट, सरगरमाथा र नेपाल लाइफको सेयर किन्दा अझै लाभांश पाइन्छ ।

आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट प्रभु इन्स्योरेन्सले ११ प्रतिशत बोनस र ०.५८ प्रतिशत नगद गरी ११.५८ प्रतिशत, नेको इन्स्योरेन्सले १५ प्रतिशत बोनस र ०.७९ प्रतिशत नगद गरी कुल १५.७९, सिद्धार्थ इन्स्योरेन्सले १५ प्रतिशत बोनस र ०.७९ प्रतिशत नगद गरी कुल १५.७९ र हिमालयनले ६.६५ प्रतिशत बानेस र ०.३५ प्रतिशत नगद गरी कुल ७ प्रतिशत लाभांश घोषणा गरेको छ ।

त्यस्तै, एनएलजी इन्स्योरेन्सले १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत, नेशनल लाइफ इन्स्योरेन्सको १९ प्रतिशत बोनस र १ प्रतिशत नगद गरी २० प्रतिशत, लुम्बिनी जनरलले ९.५२ प्रतिशत बोनस र ०.४८ प्रतशत नगद गरी १० प्रतिशत लाभांश घोषणा गरेको छ ।

त्यस्तै, आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सले समान ७ प्रतिशत बोनस र ०.३७ प्रतिशत नगद गरी ७.३७ प्रतिशत, एभरेष्ट इन्स्योरेन्स ६ प्रतिशत बोनस र ०.३१ नगद गरी ६.३१ प्रतिशत, सगरमाथा इन्स्योरेन्स २० प्रतिशत बोनस र १.०५ प्रतिशत नगद गरी २१.०५ प्रतिशत लाभांश घोषणा गरेका छन् ।

त्यस्तै, नेपाल लाइफले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १४ प्रतिशत बोनस र ०.७३ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । लाभांश घोषणा गर्नेमध्ये केही कम्पनीको लाभांश बीमा समितबाट स्वीकृत हुन बाँकी छ । समितिको स्वीकृतपछि सम्बन्धित कम्पनीको साधरण सभाले पारित गरेपछि सेयरधनीले घोषित लाभांश पाउने छन् ।