आजै सरकार छाड्न जोखाना हेर्दै प्रचण्ड, घुम्ने मेच माथि बसेर नेतालाई के-के गरे ब्रिफ़िङ्ग ?

  • प्रकाशित मिति : २०७८ फाल्गुन १३, शुक्रबार
  • chhanbin.com

नेकपा (माओवादी केन्द्र)ले सरकारमा रहेका आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने तयारी गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता जसरी पनि अनुमोदन गर्ने गरी अघि बढेकाले अब सरकारमा नरहने निष्कर्षमा पुगिएको एक स्थायी कमिटी सदस्यको भनाइ छ ।

बिहीबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री देउवासँग छलफल गरेका थिए । उक्त छलफलपछि अब सँगै अघि बढ्न नसकिने निष्कर्षमा पुगिएको ती नेता बताउँछन् । अहिले प्रचण्ड निवास खुमलटारमा माओवादीका पूर्वस्थायी कमिटीका सदस्यहरूबीच छलफल भइरहेको छ ।

“अध्यक्षले पटक–पटक प्रधानमन्त्रीसँग छलफल गर्नुभयो । जसरी पनि यथास्थितिमा राष्ट्रघाती एमसीसी अनुमोदन गर्ने देखियो,” ती स्थायी कमिटी सदस्य भन्छन्, “अब बालुवाटारसँग छलफलको अर्थ छैन । अहिले खुमलटारमा पूर्वस्थायी कमिटी सदस्यहरू छलफल गरिरहेका छौँ । सम्भवतः आजै सरकारबाट बाहिरिन्छौँ ।”

माओवादी संसदीय दलको बैठकले एमसीसी जबरजस्ती अनुमोदन गर्न खोजे सरकारबाट बाहिरिने निर्णय गरिसकेको छ । यद्यपि, माओवादी एमसीसी संसद्मा टेबल गर्न सहमत भएको थियो ।

आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दै छ । बैठकमा एमसीसीबारे सैद्धान्तिक छलफल गर्ने तयारी छ । सत्तासाझेदार दलहरू माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का नेताहरूले यथास्थितिमा एमसीसी अनुमोदन गर्न नहुने बताउँदै आएका छन् ।

तर, प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेतृत्वसँग एमसीसी पारित गर्न आफू जुनसुकै विकल्पमा छलफल गर्न तयार रहेको बताइसकेका छन् ।