नेप्सेमा पहिरो जाँदा सोत्तर भएका यी हुन् १५ कम्पनी, कतिको भयो बिल्लीबाठ ?

  • प्रकाशित मिति : २०७८ फाल्गुन १२, बिहीबार
  • chhanbin.com

सेयर बजारमा लगातार दोहोरो अंकको गिरावट आएको छ । हिजो १५ अंकले घटेको बजार आज ५९ अंकले घटेको हो । पछिल्ला दुई दिनमा नेप्से झन्डै ७५ अंकले घटेको हो ।

सूचकमा ठूलो गिरावट आए पनि आज कारोबार रकम मा भने बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्ब १६ करोडले बढेर सवा ४ अर्ब नाघेको छ ।

बिहीबार नेप्से ५८.९९ अंकले घटेर २६६१.४४ विन्दुमा आइपुगेको छ । आज २२९ कम्पनीको ४ अर्ब २९ करोड ३८ लाख ६४ हजार १९२ रुपैयाँ बराबरको ८४ लाख ९० हजार ६८९ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएको छ । फाइनान्स समूह सबैभन्दा धेरै ३.०१ प्रतिशतले घटेको छ । त्यस्तै, विकास बैंक, हाइड्रोपावर, निर्जीवन बीमा, जीवन बीमा, माइक्रोफाइनान्स समूह पनि २ प्रतिशतले घटेका छन् ।

उच्च अंकले घटेको बजारमा आज युनिभर्सल पावरका सेयरधनीले सबैभन्दा धेरै ५.४७ प्रतिशत गुमाएका छन् । त्यसैगरी, न्यादी हाइड्रोपावर, नयाँ सारथी लघुवित्त र सिद्धार्थ इन्स्योरेन्सको सेयर मूल्य ५ प्रतिशतले घटेको छ ।

त्यस्तै, घलेम्दी हाइड्रोपावर, बुद्धभूमि नेपाल, आइसीएफसी फाइनान्स, युनाइटेड मोदीको मूल्य साढे ४ प्रतिशतले घटेको छ भने गुराँस लघुवित्त, ग्रामीण विकास लघुवित्त, सेन्टर फाइनान्स, इन्फिनिटी लघुवित्त, सूर्य लाइफ, सिनर्जी पावर, एक्सल डेभलपमेन्ट बैंक र लक्ष्मी लघुवित्तको ४ प्रतिशतले घटेको छ ।