अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको भाउ ८ वर्षयताकै उच्च बिन्दुमा, नेपालमा अझै कति बढ्छ ?

  • प्रकाशित मिति : २०७८ फाल्गुन १२, बिहीबार
  • chhanbin.com

रुस-युक्रेन तनावले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ ह्वात्तै बढेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनमा ‘सैन्य कारबाही’ घोषणा गरेपछि अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ ८ वर्षयताकै उच्च बिन्दुमा पुगेको हो।

तेलको मूल्य एक्कासी बढेर प्रतिब्यारल १०० डलर पुगेको हो। हिजो प्रतिव्यारेल ९५ डलर रहेको तेलको भाउ एकैदिन ५ डलरले बढेको हो । यसअघि सन् २०१४ को सेप्टेम्बरमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ प्रतिव्यारेल १०२.४८ डलर पुगेको थियो ।

विश्वकै दोस्रो ठूलो तेल उत्पादक रसियालाई अमेरिका, युरोपेली युनियन लगायतले नाकाबन्दी लगाएपछि आपूर्ति अवरुद्ध हुँदा तेलको मूल्य एक्कासी बढेको हो । साथै, दुई मुलुक बीच युद्ध चर्किने देखिएपछि ठूला लगानीकर्ताहरुले सुरक्षित लगानीका रुपमा तेलमा लगानी गर्न थाल्दा मूल्य आकाशिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

ठूला लगानीकर्ताहरु सुरक्षित लगानीका क्षेत्रहरु तेल, सुन, डलरमा लगानी गर्न थालेको बताइएको छ । जसले सुनको भाउ एक वर्षयताकै उच्च बिन्दुमा पुगेको छ भने अमेरिकी डलर र जापानी येन बलियो भइरहेका छन्। अन्तर्राष्ट्रिय बजारमै तेलको मूल्य बढेपछि त्यसको प्रभाव नेपालमा पनि पर्ने भएको छ । नेपालमा शतप्रतिशत तेल विदेशबाटै आयात हुने भएकाले अन्तर्राष्ट्रिय बजारको प्रभाव यहाँ पनि पर्ने देखिन्छ ।

यसैपनि नेपालमा पछिल्लो ६ महिना यता लगातार तेलको मूल्य भाउ बढाउँदै आइएको छ । अहिले अन्तर्राष्ट्रिय बजारमै कच्चा तेलको भाउ बढेपछि नेपालमा पनि बढ्ने देखिन्छ ।