सत्ता गठबन्धन भत्किए मात्र देशले सुख पाउने योगेश भट्टराईको ठहर

  • प्रकाशित मिति : २०७८ फाल्गुन १२, बिहीबार
  • chhanbin.com

नेकपा एमालेका नेता योगेश भट्टराईले मुलुकको निकासका लागि सत्ता गठबन्धन भत्कन अनिवार्य भएको बताएका छन्। प्रतिनिधि सभाको बैठकका लागि पुगेका उनले बैठक स्थगित भएपछि पत्रकारसँग कुरा गर्दै गठबन्धन रहेसम्म देश अनिर्णयको बन्दी हुने देखिएको बताएका हुन्।

‘गुटभित्रको संकट ल्याएर पार्टीमा र पार्टीको संकट गठबन्धनमा ल्याएर पेस गर्दा भूराजनीतिक असफलतामा हामी फस्न लागेका छौं,’ उनले भने, ‘सत्ता गठबन्धनको यही विवादका कारण अन्तर्राष्ट्रिय रुपमा नेपालको बदनाम भएको छ।’ उनले एमालेले एमसीसीको पक्षमा किन उभिने भन्दै बहुमत पुर्‍याउने कुरा सत्ता पक्षको दायित्व भएको दाबी गरे। सत्ता पक्षले पेस गरेको सबै कुरा पारित गराउन प्रतिपक्षले सहयोग गर्ने भन्ने कुरा नहुने भन्दै उनले एमसीसी पनि सत्ता पक्षकै दायित्व भएको बताए।

‘विपक्षीलाई एमसीसी पास गर्ने दायित्व छैन। यो पास गर्ने कुरा सत्ता पक्षको दायित्व हो,’ उनले भने, ‘गठबन्धन भत्काउन हामी धुम हाल्न गएका छौं। यो भत्कन मुलुकका लागि अनिवार्य छ। गठबन्धन रहेसम्म मुलुक अप्ठारोमा रहन्छ।’ उनले एमाले प्रतिपक्ष भएकाले एउटामात्र भूमिका रहेको भन्दै उनले एमसीसीका बारेमा पक्ष कि विपक्षमा खुल्न चाहेनन्। उनले पछिल्लो अवस्था बारे नेपाली कांग्रेससँग भइरहेको कुराकानी सकारात्मक भएको बताए।

‘सत्ता पक्ष र प्रतिपक्षको संवाद हुनु राम्रो कुरा हो,’ उनले भने, ‘सत्ता पक्षले खाली चेक दिनुस् भन्नु भएको छ। हामी त्यसका लागि तयार छैनौं।’ दुवै पक्षबीच गिभ एण्ड टेकको कुरा हुनुपर्ने एमालेको अडान रहेको उनले बताए।