बलात्कारको बात लागेका पल शाह कहाँ छन् ? के भन्छ प्रहरी ?

  • प्रकाशित मिति : २०७८ फाल्गुन १२, बिहीबार
  • chhanbin.com

एक गायिकालाई बलात्कार गरेको भन्दै जाहेरी परेपछि अभिनेता पल शाह (पूर्णविक्रम शाह)विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । तर अहिलेसम्म उनी पक्राउ परेका छैनन् । प्रहरीले पलको खोजी भइरहेको बताएको छ ।

गायिका रहेकी आफ्ना छोरीलाई पलले बनावटी प्रेमको बहानामा पटक–पटक बलात्कार गरेको भन्दै उनका बुबाले बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएका थिए । त्यसपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेर खोजी थालिएको प्रहरीले जनाएको छ । तर उनी अझैसम्म फेला नपरेका एक प्रहरी अधिकारीले बताए ।

फेला पर्ने बित्तिकै पक्राउ गरेर अनुसन्धान सुरु गर्ने उनले बताए । तनहुँमा जाहेरी परेकाले शाहलाई दमौली लगेर बयान लिइने प्रहरीले जनाएको छ । शाहलाई पक्राउ गर्न तनहुँ प्रहरीले काठमाडौं प्रहरीलाई पनि पत्राचार गरेको छ ।

बलात्कारको उजुरी परेपछि पल आफ्नो नयाँ चलचित्रको प्रिमियरमा पनि सहभागी भएका थिएनन् । बुधबार कीर्तिपुरमा उनी अभिनित ‘म यस्तो गीत गाउँछु २’ को प्रिमियर राखिएको हो । तर शाह त्यहाँ उपस्थित भएनन् । उनी काठमाडाैंकाे बानेश्वरमा बस्दै आएका छन् ।

१७ वर्षकी ती गायिका र पलबीचको कुराकानी लिक भएको अडियोमा उनीहरूबीच शारीरिक सम्बन्ध भएको खुल्छ । नेपालको कानुनअनुसार १८ वर्ष मुनिका बालिकासँग सहमतिमै शारीरिक सम्बन्ध राखे पनि त्यो बलात्कार ठहरिन्छ ।