एमसीसीबारेको छलफलले आज यसरी रन्किदैछ संसद, कुन पार्टीको कस्तो छ रणनीति ?

  • प्रकाशित मिति : २०७८ फाल्गुन १२, बिहीबार
  • chhanbin.com

अमेरीकी सहायता परियोजना एमसीसीबारे आज (बिहीबार) संसदमा छलफल हुँदैछ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दै छ । बैठकमा एमसीसीबारे सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने सम्भावित कार्यसूची तय गरिएको छ ।

गत आइतबार एमसीसी सम्झौतासम्बन्धी प्रस्ताव संसदमा टेबल गरिएको थियो । निकै विवादित बनेको यो सम्झौतामा सत्तापक्षभित्रै भिन्न मत देखिन्छ भने प्रमुख प्रतिपक्षी नेकपा एमालेले आधिकारिक निर्णय अहिलेसम्म सार्वजनिक गरिसकेको छैन ।

पाँच दलीय सत्ता गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेस एमसीसी पास गर्न लागेको छ । एमसीसीमा पार्टीको धारणाबारे कांग्रेस सचेतक पुष्पा भुसाल भन्छिन्, ‘प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्षीसँगको छलफलमा हुनुहुन्छ ।’ एमसीसी सडकबाट सदनमा प्रवेश गरेकोले सदन नै निर्णायक हुने भुसाल बताउँछिन् ।

एमसीसीमा सत्ता साझेदार दल एकीकृत समाजवादीसमेत ध्रुवीकृत देखिन्छ । एकातिर अध्यक्ष माधव नेपाल सत्ता गठबन्धन जोगाउन लागेका छन् भने अर्कातिर झलनाथ खनाल एमसीसी टेबल भएकामै रुष्ट देखिन्छन् ।

त्यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सभामुख र गठबन्धन जोगाउन एमसीसी संसदमा पेस गर्न दिएको बताएका छन् । एमसीसी टेबलमा सहमति नजनाएको अवस्थामा गठबन्धन र सभामुख दुवै धरापमा परेकाले सहमति जनाउन बाध्य भएको दाहालले बुधबार बागमती प्रदेश कमिटीको बैठकमा बताएका थिए ।

लोकतान्त्रिक समाजवादी पार्टीले एमसीसीको पक्षमा उभिने निर्णय गरेको छ । यता सत्तामा रहँदा एमसीसीको पक्षमा रहेको एमाले संशोधन प्रस्ताव लिएर अगाडि बढ्ने अडानमा देखिन्छ । एमाले एमसीसीमा न पक्षमा खुलेको छ न त विपक्षमा नै । सत्ताधारी दल जनता समाजवादी पार्टीमा पनि एमसीसीबारे एकमत छैन । उपेन्द्र यादव पक्ष एमसीसीबारे माैन रहँदा बाबुराम भट्टराईपक्ष पास गर्नुपर्ने अडानमा छ ।

गत आइतबार एमसीसी सदनमा टेबल भइरहँदा संसद भवन बाहिर विरोध प्रदर्शन भएको थियो । आज पनि सम्भावित प्रदर्शनलाई लिएर सुरक्षा सतर्कता बढाइएको छ । संसद भवन बाहिरको सडकमा काँडेतार लगाइएको छ ।