कि एमालेले कारबाही गरेका १४ सांसद हटाउ कि सभामुखलाई गोर्खेलौरी लगाउ भन्दै ओलीले थापे अत्तो

  • प्रकाशित मिति : २०७८ फाल्गुन ११, बुधबार
  • chhanbin.com

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री बालकृष्ण खाँणबीच बुधबार बालकोटमा भेटवार्ता भएको छ। ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग मंगलबार राति बालुवाटारमा वार्ता गरेपछि बाँकी कुरा मिलाउन भन्दै खाँण बालकोट पुगेका हुन्।

उनले त्यहाँ ओलीसँग करिब आधा घण्टा लामो छलफल गर्दै यही बिहीबारको संसदबाट अमेरिकी सहायता परियोजना एमसीसी पास गराउन सहयोग मागेका थिए। गृहमन्त्री खाँण तत्कालीन अवस्थामा ओली सरकारले नै संसदमा दर्ता गराएको एमसीसी कांग्रेस र एमाले मिलेर पास गर्नुपर्ने कुरा बालकोटमा राखेका थिए।

तर, उक्त भेटमा मंगलबार राति बालकोटको जस्तै अध्यक्ष ओलीले पुरानै अडान दोहोर्‍याएका छन्। अध्यक्ष ओलीका प्रेस संयोजक रामकृष्ण बजागाईँका अनुसार आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदको सूचना टाँस्नु पर्ने यदि त्यसो नभए सभामुख अग्नि सापकोटाले पदबाट बाहिरिनुपर्ने अडान प्रस्तुत गरिएको थियो।

‘पाँच पाँचवटा दलको गठबन्धन बनाएर एमालेमाथि नियोजित रुपमा आक्रमण गरिएको छ। माओवादीले सांसदमाथि गरेको कारबाहीको सूचना सभामुखले तात्तातै टाँसेका थिए’, ओलीको भनाइ उद्धृत गर्दै बजागाईँले भने, ‘तर एमालेले कारबाही गरेका सांसदबारेको सूचना भने अन्यायपूर्वक सभामुखले नटाँस्ने निर्णय लिए। गठबन्धन दलका लागि एउटा प्रावधान र एमालेका लागि अर्को प्रावधान ? यो कसरी स्वीकार्य हुन सक्छ।’

ओलीले यदि १४ सांसदमाथि कारबाहीको सूचना नटाँस्ने हो भने सभामुख अग्नि सापकोटाले पद छाड्नुपर्ने अडान गृहमन्त्री खाँणसँग राखेका थिए।

भेटका क्रममा ओलीले एमालेले संसदमा अवरोध नगरेको पनि बताएका थिए। ‘एमालेले संसदमा अवरोध गरेको होइन। त्यहाँ त सभामुखले अवरोध गरिरहेका छन्। एमालेले त सभामुखको कदमको विरोध मात्रै गरेको हो’, ओलीले भेटमा भने, ‘संसदको अवरोध सभामुखबाट भएकाले निकास पनि उनैले दिनुपर्छ। एमालेको अवरोध हुन्थ्यो भने संसदमा एमसीसी कसरी टेबल हुन्थ्यो? निकास एमालेसँग खोज्ने होइन, सभामुखबाट खोजिनुपर्छ।’

ओलीले एकै संविधान र एकै संसदमा एमालेमाथि अन्याय भएको बताउँदै आफ्नो पार्टीले गरेको कारबाहीको टुंगो लगाउने अवस्था भएमा सहकार्य हुन सक्ने बताएका थिए।

मंगलबार राति पनि ओलीसहितका चार नेता देउवासँग वार्ताका लागि बालुवाटार पुगेका थिए। त्यहाँ पनि उनले १४ सांसदमाथिको कारबाहीको टुंगो लगाएमा एमसीसीसहितका मुद्दामा सहकार्य गर्न एमाले तयार रहेको बताएर बालकोट फर्किएका थिए।