निर्वाचन आयोगले थप तीन दल दर्ता गरेको छ। योसँगै अब आयोगमा दर्ता भएका दलको संख्या १०९ पुगेको छ। पछिल्लो पटक दर्ता भएका दलमा नेपाल कम्युनिस्ट पार्टी (गौरवशाली), साझा पार्टी, नेपाल र समावेशी लोकतान्त्रिक पार्टी छन्।
दर्ता भएका दलमध्ये नेकपा (गौरवशाली) का अध्यक्ष भविसोर पराजुली हुन्। उनी गत असारमा निर्वाचन आयोगमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा (माओवादी केन्द्र) आफ्नो भएको दाबी गर्दै पुगेका थिए।
उनले निर्वाचन आयोगमा अध्यक्ष प्रचण्ड, नेताहरु रामबहादुर थापा ‘बादल’ र मातृका यादवसहितका नेतालाई पार्टीले कारबाही गरेको पत्र लिएर आयोग पुगेका थिए। पराजुली यसअघि नेपाल गौरवशाली पार्टीका अध्यक्ष थिए। उक्त पार्टी २०७० सालको संविधानसभा निर्वाचनमा ‘स्याउ’ चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी थियो। प्रत्यक्षतर्फ ११६ मत प्राप्त गरेको यो पार्टीले समानुपातिक तर्फ भने ३,३८८ मत पाएको थियो।
२०७३ सालमा तत्कालीन एकीकृत नेकपा (माओवादी), मातृका यादव नेतृत्वको नेकपा (माओवादी), बादल नेतृत्वमा तत्कालीन नेकपा-माओवादीको एउटा समूह, मणि थापा नेतृत्वको समूह लगायत विभिन्न १० घटक भई नेकपा (माओवादी केन्द्र) गठन भएको थियो। त्यसबेला पराजुली नेतृत्वको गौरवशाली पार्टी पनि माओवादी केन्द्रमा समाहित भयो।
पार्टी एकता गर्दाको एक घटकको सहमतिबिना प्रचण्ड लगायतका नेताहरु माओवादी केन्द्र छाडी एमालेमा प्रवेश गरेको र उनीहरुलाई पार्टीले कारबाही गरेको भन्दै पराजुली माओवादी केन्द्र आफ्नो भएको दाबी गर्दै आयोगमा पुगेका थिए। तर, आयोगले उनको निवेदन खारेज गरिदिएपछि भदौ १३ गते उनले नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए।
आयोगले नेकपा (गौरवशालीलाई) नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्न झल्किने गरी गोलाकारभित्रको हँसिया हथौडा पार्टीको छाप दिएको छ। साथै यसअघि गौरवशाली हुँदाको चुनाव चिह्न स्याउ दिने निर्णयसहित आयोगले ४ गते दल दर्ता गरेको हो।
त्यस्तै, विवेकशील साझा पार्टीबाट अलग भएको अर्को एउटा समूहले साझा पार्टी, नेपाल दर्ता गराएको छ। प्रभाष बस्न्यात अध्यक्ष रहेको पार्टीले यसअघि विवेकशील नेपालीले प्रयोग गर्दै आएको ‘स्माइली’ सहितको झण्डा पाएको छ। त्यस्तै उसले चुनाव चिह्न दुईवटा पैताला/पाइला छाप पाएको छ। आयोगले यो पार्टीलाई पनि ४ गते नै दर्ता गर्ने निर्णय गरेको हो।
सुसंस्कृत राजनीतिमार्फत समतामूलक समृद्धिको नेतृत्व गर्न जन्मिएको विवेकशील नेपाली दल, साझा पार्टी, विवेकशील साझा पार्टीकै प्रगतिशील राजनीतिक `लेगेसी´लाई साझा पार्टीले निरन्तरता दिने बताइएको छ।
यसअघि निर्वाचन आयोगमा विवेकशील साझा, नेपाल विवेकशील पार्टी पनि दर्ता छन्। त्यस्तै, डा. बाबुराम भट्टराई निकट केही व्यक्तिले समेत समावेशी लोकतान्त्रिक पार्टी दर्ता गराएका छन्। आयोगले उक्त पार्टीलाई यसअघि भट्टराईको पार्टी नयाँ शक्तिले प्रयोग गर्दै आएको चुनाव चिह्न आँखा दिएको छ।
जनता समाजवादी पार्टीमा संघीय परिषद् अध्यक्ष भट्टराई र केन्द्रीय अध्यक्ष उपेन्द्र यादवबीच विवाद चर्किँदै जाँदा भट्टराई निकटका नेताहरुले चाँजोपाँजो मिलाएर लामिछानेको नेतृत्वमा नयाँ पार्टी दर्ता गराएका हुन्।
स्थानीय तह निर्वाचन प्रयोजनका लागि आयोगमा १० दल दर्ता भएका छन्। आयोगले फागुन ५ गते देखि १५ गतेसम्मको समयावधि दिएर दल दर्ताको सूचना जारी गरेको थियो। हालसम्म १० दल दर्ता भएका हुन्।
आयोगमा दर्ता भएका कुल १०९ दललाई दर्ताका लागि आयोगले आह्वान गरेको थियो। यस अवधिमा आयोगमा सिके राउतको जनमत पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय नागरिक पार्टी, जनता प्रगतिशील पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, देशभक्त समाज, लोकतान्त्रिक समाजवादी पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी र मौलिक जरोकिलो पार्टी आयोगमा दर्ता भएका हुन्।