नेप्सेमा पहिरो जाँदा पनि आज भयो ४ अर्बको कारोबार, यी हुन् धेरै मूल्य घटेका दर्जन कम्पनी

  • प्रकाशित मिति : २०७८ फाल्गुन ८, आईतवार
  • chhanbin.com

सेयर बजार उच्च अंकको गिरावट आएको छ । गत साता ६५ अंकले घटेको नेप्स यस साताको पहिलो दिनमै ३९ अंकले घटेको हो ।

गत बिहीबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत सेयर धितो कर्जामा थप कडाइ गर्ने घोषणा गरेसँगै नेप्सेमा भारी गिरावट आएको हो । गत सातादेखि ओरालो लागेको नेप्से मौद्रिक नीतिमा गरिएको व्यवस्थाले लगानीकर्ता निराशा हुँदै झनै प्रभावित भएको हो । सूचकमा गिरावट आए पनि कारोबार रकम भने उत्साहजनक नै रहेको छ । आज ४ अर्ब रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।

आइतबार नेप्से ३९.४० अंकले घटेर २६९३.१० विन्दुमा आइपुगेको छ । आज २३० कम्पनीको ४ अर्ब ८ करोड ६४ लाख ७४ हजार ८२८ रुपैयाँ बराबरको ७१ लाख २२ हजार २९९ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये अन्य समूह बाहेक बाँकी सबै समूहको परिसूचक राताम्मे भएको छ । जीवन बीमा समूह सबैभन्दा धेरै २.४४ प्रतिशतले घटेको छ । त्यस्तै, उत्पादनमूलक, निर्जीवन बीमा र फाइनान्स समूह पनि २ प्रतिशतले घटेको छ

आज कारोबार भएका २३० कम्पनीमध्ये जम्मा १८ कम्पनीको सेयर मूल्य बढेको छ भने २०३ कम्पनीको घटेको छ । ९ कम्पनीको मूल्य स्थिर रहेको छ । आज जीवन विकास लघुवित्तको सर्वाधिक कारोबार भएको छ । यसको ५८ करोड बढीको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल टेलिकम १९ करोड र अरुण भ्याली १७ करोडको कारोबार हुँदै शीर्ष तीन कम्पनीमा रहे ।

उच्च अंकले घटेको बजारमा आज नारायणी विकास बैंकको सेयर मूल्य सबैभन्दा धेरै ४.७४ प्रतिशतले घटेको छ । त्यस्तै, युनाइटेड इन्स्योरेन्स, रुरु जलविद्युत् र प्रिमियर इन्स्योरेन्सको मूल्य पनि ४ प्रतिशतले घटेको छ ।

त्यसैगरी, आइएमई जनरल, मिथिला लघुवित्त, नेरुडे लघुवित्त, हिमालयन जनरल इन्स्योरेन्स, गोर्खा फाइनान्स, युनियन लाइफ इन्स्योरेन्स, पोखरा फाइनान्सको सेयर मूल्य साढे ३ प्रतिशतले घटेको छ । घट्दो बजारमा आज युनाइटेड इदी मार्दीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।