मन्त्रिपरिषदले नेपाल प्रहरीमा तीन जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दरबन्दी थप्ने निर्णय गरेसँगै दरबन्दी दर्ताको प्रक्रिया अघि बढेको छ। गृह मन्त्रालयका अनुसार तीन दिनभित्रमा प्रहरी किताबखानामा दरबन्दी दर्ता हुँदैछ र त्यसपछि बढुवाको औपचारिक प्रक्रिया सुरू हुने छ।
‘प्रहरी किताबखानामा दरबन्दी दर्ताका लागि आवश्यक प्रक्रिया थालिसकिएको छ,’ गृह मन्त्रालयका एक अधिकारीले भने, ‘आइतबारसम्ममा दरबन्दी दर्ता हुने छ।’
साधारणतया, मन्त्रिपरिषदले निर्णय गरेपछि पन्ध्र दिनभित्र दरबन्दी दर्ता र बढुवा अघि बढाइने गरिएको छ। दरबन्दी दर्ता भएपछि बढुवा समिति गठन हुन्छ। बढुवा समिति गृहसचिवको नेतृत्वमा गठन हुन्छ। त्यसमा सदस्यसचिव प्रहरी महानिरीक्षक रहन्छन्।
साधारणतया, बढुवा समितिले कार्यसम्पादन मूल्यांकन, ज्येष्ठता, योग्यता लगायत बढुवा सम्बन्धमा प्रहरी नियमावलीमा रहेका मूलभूत विषयवस्तु हेर्छ। त्यसपछि बढुवा सिफारिस सूची ल्याइने गरिएको छ।
तर, अहिले प्रहरीमा वरिष्ठता, ज्येष्ठता र कार्यसम्पादन मूल्यांकन भन्दा पनि शक्तिकेन्द्रको रोजाइमा जो पर्छ त्यसैलाई अगाडि ल्याइने प्रवृत्ति छ। तीन जना एआइजी दरबन्दीमा धीरजप्रताप सिंह, उत्तमराज सुवेदी र रविन्द्रबहादुर धानुकलाई अटाउने सत्ता गठबन्धनमा सहमति जुटिसकेको छ।
बढुवा समितिले दाबी विरोध तथा उजुरीका लागि एक साताको समय दिने छ। त्यो समयमा दाबीविरोध र सिफारिस विवादित नबने बढुवा सदर गरी दर्ज्यानी चिन्ह दिने गरिन्छ।
अन्यथा नभए सिंह, सुवेदी र धानुक नै एआइजी हुनेछन्। ‘बीचमा शक्तिकेन्द्रले नयाँ पात्र खडा गर्ने सम्भावना पनि हुन्छ, तर तीन जनाको नाममा सहमति भइसकेका कारण त्यस्तो हुन्छ भन्ने लाग्दैन,’ बढुवा प्रतिस्पर्धामा रहेका एक अधिकृतले भने।
बढुवा प्रतिस्पर्धामा यही ब्याचबाट वसन्त लामा, वसन्त पन्त, दिवेश लोहनीलगायत डिआइजी छन्। वर्तमान प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्री ब्याचबाट घनश्याम अर्याल, ईश्वरबाबु कार्की, गणेशबहादुर ऐरलगायत पनि छन्।
तर, अबको तीन महिना नपुग्दै अवकाशमा जाने भएकाले उनीहरूको सम्भावना न्यून छ। नेपाल प्रहरीमा पाँच एआइजी दरबन्दी थियो। तीन थपिएपछि आठ जना रहनेछन्।
तीन एआइजीका लागि विभागहरू छुट्याउने तयारी पनि भइरहेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार प्रदेश समन्वय महाशाखा गठन गरिने छ। यसैगरी, मानव स्रोत र प्रशासन विभागलाई छुट्याएर एउटा विभाग तयार गरिने छ।
केन्द्रीय अनुसन्धान ब्युरोमा एआइजी दरबन्दी राखिने छ। यसअघि ब्युरोमा डिआइजी दरबन्दी थियो। यी तीन दरबन्दी थपिएपछि भावी प्रहरी नेतृत्वमा पुग्ने प्रतिस्पर्धा फराकिलो बनेको छ।
अहिलेसम्म भावी प्रहरी महानिरीक्षकको प्रतिस्पर्धामा एआइजी विश्वराज पोखरेल र सहकुलबहादुर थापाको दाबेदारी छ। पोखरेल र थापा आफ्ना ब्याचमेटलाई उछिन्दै एआइजी बनेका थिए। अहिले पोखरेल र थापाको ब्याचबाटै एआइजी दरबन्दी बनाइँदैछ र त्यही ब्याचबाट नयाँ प्रहरी महानिरीक्षक बन्नेछन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले पोखरेल र थापालाई नरूचाएका कारण दरबन्दी थपबाट आएका व्यक्तिलाई प्रहरी महानिरीक्षक उम्मेदवार बनाउन खोजिएको बताइएको छ।
त्यो अवस्थामा सुवेदी र सिंह भावी प्रहरी महानिरीक्षकको प्रतिस्पर्धामा हुनेछन्। अहिलेका प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्री, एआइजी हरिबहादुर पाल, प्रद्युम्न कार्की र निरजबहादुर शाहीले २०७९ वैशाख १९ मा अवकाश पाउँदैछन्।