बाबुराम र उपेन्द्रको मिल्दै मिलेन ठ्याक, एमसीसीले जसपालाई यसरी बनाउने भो दुई फ्याक

  • प्रकाशित मिति : २०७८ फाल्गुन ६, शुक्रबार
  • chhanbin.com

मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)को विषयलाई लिएर जनता समाजवादी पार्टी (जसपा) नेपाल फूटको संघारमा पुगेको छ । पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई एमसीसीको पक्ष र केन्द्रीय कार्यसमिति अध्यक्ष उपेन्द्र यादव एमसीसीको विपक्षमा देखिएपछि पार्टी विभाजनको संघारमा पुगेको हो ।

भट्टराईले खुलेर नै एमसीसीको समर्थन मात्र गरिरहेका छैनन्, पार्टीको कार्यकारिणी समिति र संसदीय दलको बैठकबाट समेत उक्त निर्णय गराउने कसरतमा लागेका छन् । तर जसपाका कार्यकारिणी अध्यक्ष यादव भने त्यस विषयमा निर्णय गर्न नहतारिने पक्षमा छन् । एमसीसीको विपक्षमा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीसँग यादवले शुक्रवार बैठक नै गरेका छन् ।

पछिल्लो केही दिनदेखि जनकपुर रहेका यादव काठमाडौं आएलगत्तै शुक्रवार माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बसेको तीन दलको बैठकमा उपस्थित भएका थिए । त्यसपछि प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्ता गठबन्धनको बैठकमा समेत यादव सहभागी भएका थिए।

यादव खुमलटार पुगेकै बेला भट्टराईले भने बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए । ‘जसपाका बहुसंख्यक सांसदले एमसीसीको पक्षमा मतदान गर्नेछन् भनेर उहाँले प्रधानमन्त्रीलाई आश्वस्त पार्नुभएको छ,’ जसपाका एक नेताले भने । भट्टराईले संसदीय दलमा पनि बहुमत जुटाउन विभिन्न सांसदहरूसँग निरन्तर संवादमा गरिरहेको ती नेताले बताए ।

एमसीसीको विषयमा यादवले अहिलेसम्म खुलेर कुनै अभिव्यक्ति नदिएपनि उनको मूभ हेर्दा उनी एमसीसीको विपक्षमा रहेको देखिन्छ । अर्कातर्फ भट्टराई ज्यान फालेर नै एमसीसीको पक्षमा लागेका छन् । जसपाका प्रचार विभाग प्रमुख डम्बर खतिवडा भट्टराई मात्र होइन, जसपाका बहुसंख्यक सांसदले एमसीसीको पक्षमा मतदान गर्ने दाबी गर्छन् ।

‘एमसीसी संसदमा टेबुल भएपछि पार्टीको संसदीय दलको बैठकबाट नै बहुमतको आधारमा निर्णय गराएर एमसीसीको पक्षमा मतदान गर्ने रणनीतिमा हामी छौं,’ भट्टराई पक्षीय नेता खतिवडाले भने, ‘अब उपेन्द्रजीले के गर्ने भन्ने उहाँको स्वतन्त्रताको कुरा हो । अन्तिममा भट्टराई एक्लै भएपनि एमसीसीको पक्षमा मतदान गर्नुहुन्छ ।’

संसदीय दलको बैठकमा बहुमत नपुगेको खण्डमा पार्टीको कार्यकारिणी समितिको बैठकमा बहुमत जुटाएर भएपनि एमसीसीको पक्षमा पार्टीलाई उभ्याउने रणनीतिमा भट्टराई अगाडि बढेका छन् । ‘कार्यकारिणी समितिको बैठकमा हाम्रो बहुमत पुगिसकेको छ, अब संसदीय दलको बैठकबाट बहुमत पुर्‍याउने प्रयासमा छौं,’ खतिवडाले भने, ‘मतदान हुने दिन सांसदको नाम र संख्या पनि प्रस्ट हुन्छ ।’

दुई दिनअघि मात्र जसपा सांसद मोहम्मद इस्तियाक राईले पार्टीका बहुसंख्यक सांसद एमसीसीको विपक्षमा रहेकाले संसदीय दलको बैठकबाट पनि विपक्षमा मतदान गर्ने निर्णय हुने बताएका थिए । ‘एमसीसी राष्ट्रघाती परियोजना रहेकाले त्यसलाई अस्वीकार गर्नुपर्ने भन्ने पार्टीका बहुमत सांसदको विचार देखिएकाले निर्णय गर्नुपरे विपक्षमा नै मतदान गर्ने निर्णय संसदीय दलको बैठकबाट हुन्छ,’ राईले भनेका थिए ।

एमसीसीको पक्षमा भट्टराई लाग्दा पार्टी विभाजन हुने निश्चित जस्तो देखिएको छ । तर नेताहरू विभाजनको सम्भावनालाई नकार्छन् । ‘पार्टी फुटाउने हाम्रो कुनै योजना, रुचि वा उद्देश्य छैन, पार्टी विभाजन गर्दैनौं,’ खतिवडाले भने, ‘एमसीसीको पक्षमा उपेन्द्रजी पनि आउनुपर्छ भन्ने हाम्रो आग्रह हो। आउनुहुन्न भने पनि हामी एमसीसीकै पक्षमा मतदान गर्छौं ।’

राजनीतिक र नैतिकरूपमा समेत भट्टराईले कमिटमेन्ट गरिसकेको हुनाले अब त्यहाँबाट पछि हट्ने कुरा नभएको उनले बताए । पार्टीको संसदीय दलको निर्णयविपरीत भट्टराईले एमसीसीको पक्षमा मतदान गरे कारवाही गरेर पार्टीबाट निष्कासन गर्नेसम्मको तयारी उपेन्द्र पक्षले गरेको छ । ‘पार्टीको संसदीय दलको बैठकमा हुने निर्णयविपरीत भट्टराईले मतदान गर्नुभयो भने उहाँलाई पार्टीले कारवाही गर्नसक्छ,’ यादवनिकट एक नेताले भने।

यता खतिवडा भने कारवाही कसले कसलाई गर्ने हो त्यो पछिको विषय भएको बताउँछन् । विश्वका लोकतान्त्रिक शक्तिहरूसँग सहकार्य गरेर जानुपर्छ भन्ने भट्टराईको राजनीतिक लाइन रहेको भन्दै उनले कम्युनिस्ट पार्टीले बोकेको लाइनलाई जसपाले बोक्न नहुने बताए ।

‘हाम्रो पार्टीमा केही पूर्व कम्युनिस्ट पार्टीका नेताहरू भए पनि कम्युनिस्टको विचारधारा नबोक्ने, लोकतान्त्रिक विचारधारा बोक्ने भनिएको अवस्थामा पनि उपेन्द्रजीले कम्युनिस्ट पार्टीकै विचारधारा बोक्न खोज्नुभएको छ,’ खतिवडाले भने, ‘त्यसकारण पार्टी विभाजन नै भएपनि हामी एमसीसीको पक्षमा छौं, रहन्छौं।’

कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले एमसीसीको विषयमा पार्टीमा कुनै निर्णय नभएको बताए । ‘यत्रो महत्त्वपूर्ण विषयमा पनि पार्टीको बैठक बस्न सकेको छैन, सबै नेताहरू आ-आफ्नो ढंगले पक्ष र विपक्षमा लाग्नुभएको छ,’ यादवले भने, ‘पार्टीको बैठक बसेर औपचारिक निर्णय नहुँदासम्म केही भन्नसक्ने अवस्था छैन।’

गत मंसिर ५ देखि ७ गतेसम्म जसपाको कार्यकारिणी बैठक बसेको थियो । त्यसपछि पार्टीको कार्यकारिणी बैठक नै बस्न सकेको छैन।एमसीसीलाई लिएर नै पार्टी विभाजन हुन सक्ने खतरा बढ्दै गएको उनले पनि स्वीकारे ।

‘पार्टीलाई विभाजनको खतराबाट जोगाउनका लागि विगतमाजस्तै यसपटक पनि औपचारिक निर्णय नगर्ने र आ-आफ्नो ढंगले पक्ष वा विपक्षमा मतदान गर्न खुला छाड्ने रणनीति पनि हुन सक्छ,’ उनले भने, ‘विगतमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई लगाइएको अविश्वासको प्रस्तावमा मतदान गर्ने बेला पार्टीले ह्वीप नलगाएर पक्ष वा विपक्षमा मतदान गर्न सांसदलाई छुट दिएको थियो, त्यही कुरा फेरि हुन सक्छ।’

पार्टीको नेतृत्व संरचना तथा कार्यशैलीलाई लिएर भट्टराई पक्षधर असन्तुष्ट रहँदै आएको अवस्थामा एमसीसीको विषयले पार्टीमा विभाजनका थप रेखा कोरिएको छ । पार्टीको विधानमा नै मधेशी, खस आर्य, आदिवासी जनजातिसहित तीन क्लस्टरको सामूहिक नेतृत्व हुनुपर्छ भन्ने कुरामा मन्त्री यादवको पनि जोड छ ।

‘त्यस विषयमा त म मात्र होइन, कार्यकारिणी समितिका सबै सदस्यहरू सहमत छन्, तर उपेन्द्रजीले बैठक नै बोलाइरहनुभएको छैन,’ उनले भने, ‘अहिले संघीय परिषद् अध्यक्ष रहेका डा. बाबुराम भट्टराईलाई पनि कार्यकारिणी अध्यक्षमा ल्याउने र संघीय परिषद्को अध्यक्षमा अशोक राईलाई पुर्‍याउने पार्टीका अधिकांश नेताको माग हो।’

सामूहिक नेतृत्व र सामूहिक निर्णयमा जाने कुरामा अधिकांशको जोड रहेको उनले बताए । जसपामा २१ जना सांसद छन् ।