कार्यव्यवस्था परामर्श समितिको बैठक संसद भवन नयाँ बानेश्वरमा सुरु भएको छ। शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको कार्यसूची तय गर्न सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा बैठक बसेको हो। बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले फेरि सहभागी भएन।
जसअनुसार संसदको बैठकमा एमसीसी पेश नहुने भएको छ। शुक्रबार बिहान सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक विनानिष्कर्ष सकिएसँगै एमसीसीले यसपटक पनि संसदमा प्रवेश नपाउने भएको हो।
सत्ता गठबन्धनको बैठकमा नेकपा एकीकृत समाजवादीले शनिबार स्थायी समितिको बैठकबाट एमसीसीबारे निर्णय गर्ने जनाउँदै बैठक सार्न माग गरेका थियो। सोहीअनुसार सत्ता गठबन्धनको बैठक आइतबारलाई सरेको छ।
संसद सचिवालयले जारी गरेको आजको बैठकको सम्भावित कार्यसूचीमा समेत एमसीसी परेको छैन। सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गर्नेछन्।