पाँच दलीय गठबन्धनको निर्णायक बैठक बालुवाटारमा सुरु भएको छ। गठबन्धनको भविष्य निर्धारण गर्ने अनुमान गरिएको बैठकमा भाग लिन नेताहरु बालुवाटार पुगेका छन्। सरकारको नेतृत्व गरेको कांग्रेसले एमसीसी सम्झौतालाई संसदबाट अनुमोदन गर्न अघि बढाउन चाहे पनि माओवादी केन्द्र र एकीकृत समाजवादीले रोक्न चाहेका छन्।
जसका कारण सत्ता गठबन्धन धरापमा परेको छ। बुधबार नै एमसीसी सदनमा टेबल गर्ने तयारी भए पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा शुक्रबारसम्मका लागि स्थगित गरिएको छ।
कांग्रेसले माओवादी र समाजवादी एमसीसी पारित गराउन तयार नभए एमालेसँग सहकार्य गरेर अघि बढ्ने तयारी ठोस रुपमै अघि बढाएको छ। माओवादीले सहमति बेगर एमसीसी अघि बढाए सरकारबाट बाहिरिने निर्णय गरेको छ।
बैठकमा कांग्रेसबाट सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला सहभागी छन्।
त्यस्तै माओवादीबाट अध्यक्ष दाहाल र नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीबाट अध्यक्ष माधव नेपाल र नेता झलनाथ खनाल गएका छन् भने जसापबाट बाबुराम भट्टराई सहभागी छन्। श्रेष्ठ र खनाल एमसीसी कुनै हालतमा पारित गर्न नहुने हार्डलाइनर हुन्।