सत्ता गठबन्धन कसरी बचाउने भन्नेमा आफू चिन्तित रहेको प्रचण्डले यसरी ओकले कुरा

  • प्रकाशित मिति : २०७८ फाल्गुन ५, बिहीबार
  • chhanbin.com

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँच दलीय सत्ता गठबन्धन कसरी बचाउने भन्नेमा आफूहरुको जोड रहेको बताएका छन्।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँगको छलफलपछि उनले यस्तो बताएका हुन्। छलफलपछि प्रचण्डले भने, ‘पाँच बजे मिटिङ छ। त्यसैको तयारीको बारेमा छलफल भयो। पाँचै दललाई कसरी बचाउने र एमसीसीलाई कसरी निकास दिने भन्ने हो। आज पाँच दलको बैठकमा हामी छलफल गरेर एउटा निचोड, एउटा निकास निकाल्नेतिरै छ। हाम्रो जोड चाहीँ सकेसम्म यो गठबन्धन बचाउने भन्नेमै छ।’

एकीकृत समाजवादीका अध्यक्ष नेपालले छलफलबारे खासै बोल्न चाहेनन्। उनले सबै विषयमा गठबन्धनको बैठकमै छलफल हुने बताए।
सत्ता गठबन्धनको बैठक सुरु हुनुअघि दाहाल र नेपालले छलफल गरेका हुन्। छलफलमा जसपाका नेता राजेन्द्र श्रेष्ठ पनि सहभागी थिए। बिहीबार साँझ ५ बजे बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै छ।

सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले अमेरिकी सहायता परियोजना एमसीसी अघि बढाउन चाहेपछि माओवादी केन्द्र र एकीकृत समाजवादीको त्यसमा असहमति छ। अहिलेकै अवस्थामा एमसीसी संसदमा पेश हुन नसक्ने उनीहरुको अडान छ। जसपाले भने अहिलेसम्म एमसीसीबारे आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन।

सरकारले बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबल गर्ने भने पनि सत्ता गठबन्धनभित्रै चरम असन्तुष्टि देखिएपछि सरकार पछि हटेको थियो। आज हुने सत्ता गठबन्धनको बैठक ‘निर्णायक’ हुने बताइएको छ। कांग्रेस गठबन्धन तोडिने अवस्था आए पनि एमसीसीबाट पछि नहट्ने पक्षमा देखिएपछि माओवादी र एकीकृत समाजवादीलाई गठबन्धनमा रहिरहने कि बाहिरिने भन्ने चुनौती छ। माओवादीले संसदबाट एमसीसी पास भए सरकार छाड्ने निर्णय गरेको छ।