मन्त्रीलाई गराएपछि खानपान, अख्तियारमा मुद्दा परेको कम्पनीलाई यसरी दिईयो अभयदान

  • प्रकाशित मिति : २०७८ फाल्गुन ५, बिहीबार
  • chhanbin.com

तीनकुनेस्थित वाग्मती नदीम बन्ने आर्क ब्रिजको ठेक्का प्रक्रिया अघि बढ्ने भएको छ । आवेदन दिएको निर्माण कम्पनी विरुद्ध मुद्दा परेर रोकिएको उक्त ठेक्का प्रक्रिया बोलपत्र आह्वान गरेको ६ महिनापछि अघि बढ्ने भएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा परेको कम्पनीलाई ठेक्का प्रक्रियामा समावेश गर्ने निर्णय गरेसँगै ठेक्का प्रक्रिया अघि बढ्ने भएको हो ।

तीनकुने आर्क ब्रिजको ठेक्का प्राविधिक मूल्यांकन चरणमा पुगेपछि आवेदन दिएको वाइपी किँरातेस्वर जेभी निर्माण कम्पनी विरुद्ध अख्तियारमा मुद्दा परेको थियो । मुद्दाका कारण मूल्यांकन सूचीमा कम्पनीको नाम समावेश गर्ने/नगर्ने विषयमा झण्डै ६ महिना रोकिएको ठेक्का प्रकृया मन्त्रालयबाट ठेकेदारलाई मूल्यांकनमा समावेश गर्ने निर्णय भएपछि अघि बढ्ने भएको छ ।

तीनकुने आर्क ब्रिज बनाउनका लागि गत भदौमा आह्वान गरिएको बोलपत्रमा ७ कम्पनीले आवेदन दिएका थिए। निर्माणका लागि लुम्बिनी कोटेक जाय जेभी, सपना निर्माण सेवा, लामा जेजिएसएचसी जेभी, वाइपी किँरातेस्वर जेभी, हिमसगरमाथा, मृत, सन्जीवनी र हिमढुङ्गा ठोक्कर गोल्डेन गुण जेभीले आवेदन दिएका थिए।

तर, मूल्यांकनका लागि छनोट भएका निर्माण कम्पनीमध्ये मध्ये एउटा कम्पनी विरुद्ध अख्तियारमा मुद्दा दायर भएको पाइएको हो । मूल्यांकन फाइल स्वीकृतका लागि सडक विभाग पुगेपछि ‘वाइपी’ निर्माण कम्पनी विरुद्ध अख्तियारमा मुद्दा दायर भएको थियो । उक्त कारण प्राविधिक मूल्यांकन रोकिएको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा उक्त ठेकेदारलाई मूल्यांकनमा समावेश गर्ने कि नगर्ने भनेर पत्र पठाइएको थियो ।

उपत्यका सडक विस्तार आयोजनाका सूचना अधिकारी महानन्द शाक्यले मूल्यांकनमा राख्ने निर्णयसहित हाल मन्त्रालयबाट पत्र आयोजनामा आइपुगेको बताए । उक्त पत्र आयोजनाबाट सडक विभागमा पठाइने छ । विभागबाट प्राविधिक मूल्यांकन गरी कम्पनी छनोट पछि आर्थिक मूल्यांकनका लागि आह्वान गरिने छ । आर्थिक मूल्यांकनबाट छनोट हुने एक कम्पनीले आर्क ब्रिज निर्माणको ठेक्का पाउने छ ।

‘मन्त्रालयबाट मुद्दा दायर भएको कम्पनीलाई पनि मूल्यांकनमा समावेश गर्नु भनेर निर्णय भएर आएको छ, अब उसलाई पनि मूल्यांंकनमा राखेर ठेक्का प्रकृया अघि बढ्नेछ,’ शाक्यले भने ।

उनका अनुसार १ हप्ताभित्र प्राविधिक मूल्यांकन सम्पन्न भइ आर्थिक मूल्यांकनका लागि आवेदन खुल्ला गरिने छ । उक्त आवेदन खुल्ला गरेको १५ दिनभित्र छनोट भएका कम्पनीमध्येले आर्थिक प्रतिवेदन पेश गर्नुपर्नेछ । सो पश्चात् सबैभन्दा कम लागत कबोल्ने कम्पनीलाई ठेक्का दिइने छ ।

उनले ठेक्का प्रकृया पूरा हुन अझै करिब २ महिना लाग्ने बताए । अयोजना अथवा विभागले मुद्दा दायर भएको कम्पनीलाई मूल्यांकन सूचीबाट आफै हटाउन नमिल्ने भएकाले उक्त विषयमा मन्त्रालयबाट स्वीकृती लिइएको हो । निर्माण व्यवसायीको लापरबाही कारण सो पुल ७ वर्षदेखि अलपत्र बनेको छ । यसअघि निर्माणमा संलग्न कम्पनी पप्पु कन्स्ट्रक्शन प्रालिसँगको ठेक्का सम्झौता अन्त्य गरेसँगै नयाँ प्रक्रियाबाट निर्माण गर्न तयारी गरिएको हो ।

पप्पुसँग २०७१ पुस ४ गते आर्क ब्रिज निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । सो सम्झौता अनुसार २०७५ असार ५ गतेसम्म निर्माण सम्पन्न हुनुपर्ने थियो । म्याद भित्र काम सम्पन्न गर्न नसकेको पप्पुले म्याद थपको माग गरेको थियो भने २०७६ सालमा पप्पुले केही काम अघि नबढाउँदा कालो सूचीमा राखिएको थियो । बारम्बार काम गर्न भनेर निर्देशन दिँदा समेत पप्पुले अटेर गरेपछि उसँगको ठेक्का अन्त्य गर्न आयोजना बाध्य भएको थियो ।

पप्पुले गरेको काममा त्रुटी पाइएपछि उसलाई नयाँ डिजाइन बनाउन निर्देशन दिइएको थियो । पप्पुले त्यसमा आफ्नै खर्च बढ्ने भएपछि काम गरेको थिएन । २५ प्रतिशतभन्दा बढी काम गर्न नसकेको पप्पुसँग ठेक्का तोडी उसलाई कालोसूचीमा राखिएको छ । आयोजनाले पप्पुसँग ‘एड्भान्स पेमेन्ट ग्यारेन्टी’ (एपीजी) समेत फिर्ता लिइसकेको छ । काम सुरू गर्दा ‘मोबीलाइजेसन’का लागि दिइने सो रकम आयोजनाले पप्पुबाट फिर्ता लिएको हो । आयोजनाले २ करोड ७७ लाख रुपैयाँ एपीजी फिर्ता लिएको हो ।

२१ करोड लगानीमा बनाउन लागिएको सो पुलका लागि सरकारले ६ करोड ६२ लाख रुपैयाँ भुक्तानी गरिसकेको थियो । यो पुलमा काम गर्ने क्रममा १६ वटा पायल मध्ये २ वटा पायल जमिनमा भासिएको देखिएको छ । सरकारले यो समस्यालाई समाधान गरेर निर्माण गर्ने भनेर पप्पुलाई पत्र दिएको थियो । तर, पप्पुले त्यसै माथि क्याब लगाउने र सब स्ट्रक्चर समेत बनाएको छ । त्यसपछि सो पुल निर्माण गर्दा जोखिम बढ्ने हुँदा काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले त्यो फेरि भत्काएर बनाउन निर्देशन दिएको थियो ।

पप्पुले सो निर्देशन पालना नगरेपछि उक्त पुलको काम अघि बढ्न सकेको थिएन । आयोजनाले बारम्बार पप्पुलाई निर्माण तोडेर नयाँ डिजाइनमा पुल बनाउन भने पनि पप्पुले अटेरी गरेको हो । पप्पुले फाउन्डेसन नमिलाई त्यस माथिनै थप काम गरेको थियो ।