एमसीसी प्रचण्डका लागी कसरी भयो नखाउँ भने दिनभरिको शिकार खाउँ भने कान्छा बाउकै अनुहार ?

  • प्रकाशित मिति : २०७८ फाल्गुन ५, बिहीबार
  • chhanbin.com

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबल गरिछाड्ने बताएका छन् । देउवाले एमसीसी संसदमा टेबल गर्न सहयोगका लागि सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह समेत गरेका छन् ।

सत्ता साझेदार माओवादी केन्द्रले यथास्थितिमा एमसीसीको विपक्षमा उभिने निर्णय लिएपछि प्रधानमन्त्री देउवाले तीन वटा विकल्पबारे प्रचण्डसँग छलफल गरेका छन् । माओवादी संसदीय दलको बैठकपछि बुधबार मध्यान्ह बालुवाटार पुगेका प्रचण्डलाई देउवाले एमसीसीमा मौन बस्न, विपक्षमा उभिन र सरकार छोड्न भए छोड्न तीन विकल्प राखेका थिए ।

देउवाले बुधबार साँझ आफू निकट मन्त्री र केही पदाधिकारीसँग प्रचण्डसँगको उक्त भेटवार्ताबारे बिफ्रिङ गरेका थिए । एमसीसी पारित गर्न साथ दिन नसक्ने भए पनि टेबल गर्ने वातावरण नबिथोल्न प्रचण्डसँग प्रधानमन्त्रीले आग्रह गरेको एक काँग्रेस नेताले बताए। ‘हामी कुनै पनि हातमा एमसीसी टेबल गराउन चाहन्छौं । त्यसका लागि प्रधानमन्त्रीज्यूले प्रचण्डजीलाई तीन विकल्प दिनु भएको छ,’ उनले भने । ती नेताका अनुसार एमसीसीको पक्षमा उभिन नसक्ने भए एमसीसी पास गर्ने दिन संसदमा उपस्थित नहुन प्रचण्डलाई देउवाले पहिलो विकल्प दिएका छन् ।

यस्तै एमसीसीको विपक्षमा विपक्षमा मतदान गर्ने भए पनि संसदमा उपस्थिति भएर विपक्षमा मतदान गर्न प्रचण्डलाई देउवाले दिएको दोस्रो विकल्प छ । एमसीसी टेबल गर्दा सरकार छाड्नुपर्ने अवस्था हो भने सत्ता छोडेर जाने भएपनि जान देउवाले तेस्रो विकल्पमा प्रचण्डसामु राखेको तीन नेताले सुनाए ।

बिहीबार बिहानको भेटमा पनि देउवा र प्रचण्डबीच एमसीसीबारे थप छलफल भएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ । ‘प्रचण्डले संसदमा टेबल गर्न दिने कुरामा सहमति जानुहुन्छ कि भन्ने प्रधानमन्त्रीजीमा अझै आशा छ,’ काँग्रेसका एक नेताले भने, ‘आज साँझ बस्ने बैठक हेरौं । त्यसपछि विभिन्न विकल्पमा राति नै छलफल अगाडि बढ्छ ।’

संसदमा टेबल भएपछि यसरी हुने छ एमसीसी पास

संसदमा टेबल भए एमालेको अवरोध हुने र काँग्रेस, लोसपा र जसपाका केही सांसदको समर्थनमा एमसीसी पास गर्न सकिने काँग्रेसको बुझाइ छ । काँग्रेसले ८४ जना सांसद एमसीसीको पक्षमा उभिने दाबी गरेको छ । काँग्रेसका एक सांसदले भने, ‘संसदमा टेबल भयो भने पास हुन्छ भन्नेमा हामी ढुक्क छौं । सम्भव भए एमालेलाई एमसीसीको पक्षमा उभिने वातावरण बनाउछौं । त्यो भएन भने उसले संसद अवरोध जारी राख्छ ।’

त्यस्तो अवस्थामा काँग्रेस लोसपा र जसपाका केही सांसदको समर्थनमा एमसीसी पास हुने उनको भनाइ छ । उनले भने, ‘ एमसीसीको पक्षमा हुन्छ भन्नेहरु ८४ हुन्छन् । हुन्न भन्नेहरुको संख्या कम हुन्छ । एमसीसी पास हुन्छ ।’ सभामुख र अर्थमन्त्री माओवादी निकट भएकाले एमसीसी टेबल गर्ने कुरामै समस्या देखिएको ती सांसदको भनाइ छ । उनका अनुसार प्रचण्डको सहमति विना सभामुख र अर्थमन्त्रीले एमसीसी टेबल गर्ने अवस्था छैन ।

संसद्मा दर्ता भइसकेको विषय रोकिराख्नु राम्रो नहुने भएकाले एमसीसीलाई टेबल गराउन जोड गरिरहेको कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र बडूले बताए । मन्त्री बडूका अनुसार एमसीसीलाई संसद्ले एजेण्डा बनाए विभागीय मन्त्री (अर्थमन्त्री)ले टेबुल गरेपछि पारितको प्रक्रिया सुरु हुने छ । बडूले भने, ‘अर्थमन्त्रीले हस्ताक्षर गरेकाले यो अर्थमन्त्रालयको बिजनेस हो । अर्थमन्त्री जनार्दन शर्माले पेस गर्नुपर्ने छ । त्यसपछि पास र फेलको प्रक्रियामा जान्छ ।’