केसीद्वारा लिखित ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’ प्रधानमन्त्रीले गरे विमोचन

  • प्रकाशित मिति : २०७८ फाल्गुन ५, बिहीबार
  • chhanbin.com

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीद्वारा लिखित ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’ (सिद्धान्त तथा नीतिको परिचयसहित) लोकार्पण गरिएको छ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार बालुवाटारमा पुस्तक लोकार्पण गरे। उनले कांग्रेसबारे कम्युनिस्ट फैलाएका खराब विषय चिर्नुपर्ने बताए। केसीले पुस्तक निकाल्नेबारे आफूल यसअघि थाहा नपाएको तर पुस्तक देखेपछि खुशी लागेको देउवाले बताए।

‘कम्युनिष्टले कांग्रेसबारे भनेका खराब विषय चिर्नुछ। यो पुस्तक घर घर पुर्‍याउनु पर्छ। पार्टीको प्रचार पुगेको छैन। भएका कामको चर्चा भएको छैन’, देउवाले भने। उनले नेपालमा जति पनि परिवर्तन भए ती सबै कांग्रेसकै कारण भएको समेत दाबी गरे।

कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नयाँ पुस्ताका लागि केसीको पुस्तक अत्यन्तै लाभदायी हुने टिप्पणी गरे। कांग्रेस आन्दोलनमा लागेका तर, गुमनाम रहेका कतिपवय व्यक्तिको पनि पुस्तकमा चर्चा गरिएको थापाले बताए।

पुस्तकको प्रकाशक अक्सफोर्ड इन्टरनेसनल पल्ब्लिकेसन प्रालिका डोलिन्द्र प्रसाद शर्माले यति भव्य पुस्तक यसअघि प्रकाशित भएको आफूलाई जानकारी नरहेको बताए। कांग्रेसका लागि केसीको पुस्तकले उत्प्रेरित गराउन सक्ने उनको विश्वास छ।

लेखक तथा पत्रकार पुरुषोत्तम दाहालले कांग्रेसको स्थापनाकालीन समयदेखिका सबै विषय पुस्तकमा समेटिएको बताए। ‘भीमदन्त पन्त कांग्रेसको आन्दोलनबाटै आउनुभएको हो। तथापि, कम्युनिस्टले आफ्नो दाबी गर्छन्। परिवर्तनको नेतृत्व गर्ने गिरिजा तथा सुशील अपमानित हुनुभयो। यो पुस्तक सबैले अध्ययन गर्नु जरुरी छ’, उनले भने।

२००७ बाट सुरु भएको मतभेद अहिलेसम्म किन जारी छ भन्ने विषयको खोजी हुनुपर्ने दाहालले बताए।

‘बीपीसँगै गणेशमान, किसुनजी हरु अपमानित हुनुभयो। अपमानित हुनुको खोज पुस्तकमा देखिएन। कांग्रेसको इतिहास फरक तरिकाले प्रस्तुत गरिएको छ’, दाहालले भने, ‘पुस्तकको नामकरण अलि नमिले जस्तो लाग्यो। नाम ककटेल भएजस्तो जस्तो पनि लाग्यो।’

लेखक श्रीकृष्ण अनिरुद्ध गौतमले पुस्तक अपेक्षा गरेकोभन्दा फरक पाएको अनुभव सुनाए। उनले पुस्तक उच्चकोटीको रहेको टिप्पणी गरे। उनले पुस्तकको भाषामा एकरूपता नदेखिएको समेत टिप्पणी गरे।

‘तथापि, शीर्षक मन परेको छैन। डिजाइन पुरानो खालको छ। २१ औं शताब्दीको जस्तो डिजाइन भएन। कागजको लोभ गरिएको छ’, उनले भने, ‘कुन अभिप्ररेणाले कांग्रेस बनेको थियो, त्यसलाई पुस्तकले पुनर्ताजगी गरेको छ। २००६ मा राष्ट्रिय कांग्रेस र प्रजातान्त्रिक कांग्रेसको एकीकरण सहज तरिकाले नभएको यसै पुस्तकबाट थाहा हुन्छ।’