अर्थमन्त्री जनार्दन शर्माले स्वकीय सचिवालयमा व्यापक हेरफेरको तयारी गरेका छन् । अर्थमन्त्री भएदेखि सचिवालयमा कार्यरत कर्मचारीलाई हटाएर नयाँ ल्याउने तयारीमा शर्मा जुटेका छन् ।
अर्थमन्त्री शर्माले सचिवालयमा रहेका हर्कबहादुर नेम्वाङ, सचिन रोक्का र श्रीकुमार कठायतलाई हटाइसकेका छन् । उनीहरूलाई शर्माले सचिवालयबाट हटाएको झन्डै १५ दिएको भएको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार अहिले मन्त्री शर्माको सचिवालयमा नवीन पोखरेलमात्रै कार्यरत छन् ।
शर्माले उनीहरूलाई सचिवालयबाट हटाउनुको खास कारण खुलाएका छैनन् । तर, सचिवालयले प्रभावकारी रूपमा काम नगरेको आरोप लगाइएको छ । शर्मा पछिल्ला दिनमा निकै विवादमा तानिन थालेका थिए ।
सचिवालयमा रहेका सदस्यले ती विवादलाई व्यवस्थापन गर्न नसकेको मन्त्री शर्माको गुनासो थियो । मन्त्रालय स्रोतले भन्यो, ‘आफूले निरन्तर काम गरिरहेको भए पनि बाहिर व्यापक आलोचन भएको र त्यसलाई चिर्न सचिवालयका सदस्यले प्रभावकारी काम नगरेको मन्त्रीको गुनासो थियो ।’
सचिवालयमा कार्यरत सचिन रोक्काले भने शर्माको सचिवालय पुनर्गठन हुने संभावना रहेको बताए । अर्थमन्त्रीको सचिवालयमा केही फेरबदल हुन सक्ने शर्माको भनाइ छ । ‘त्यस्तो औपचारिक निर्णय भइसकेको छैन, बाहिर हल्ला हुनु र औपचारिक निर्णय हुनु फरक हो,’ उनले भने ।
नेम्वाङ माओवादीको प्रदेश १ कमिटीको अध्यक्ष निर्वाचित भएका थिए । उनी अध्यक्ष भएसँगै सचिवालयमा काम कम भइसकेको थियो । प्रदेश १ को नेतृत्व लिने भएपछि नेम्वाङले स्वतः छोड्ने परिस्थिति आएको थियो ।