सेयर बजारमा गिरावट आएको छ । मंगलबार ५३ अंकले बढेको सेयर बजारमा आज दोहोरो अंकको गिरावट आएको हो । सूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम २१ करोडले घटेर ३ अर्बमा सीमित भएको छ ।यो पछिल्लो ३ महिना यताकै कम हो ।
बुधबार नेप्से १९.८४ अंकले घटेर २७३४.४५ विन्दुमा आइपुगेको छ । आज २३१ कम्पनीको ३ अर्ब २ करोड ६३ लाख ३० हजार ७८४ रुपैयाँ बराबरको ५६ लाख ५२ हजार १८२ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा समूहमध्ये जीवन बीमा र अन्य समरुह बाहेक बाँकी सबै समूहको परिसूचक राताम्मे भएको छ । हाइड्रोपावर समूह सबैभन्दा धेरै २.१८ प्रतिशतले घटेको छ ।
आज कारोबार भएका २३१ कम्पनीमध्ये ४४ कम्पनीको सेयर मूल्य बढेको छ भने १७६ कम्पनीको घटेको छ । ११ कम्पनीको मूल्य स्थिर रहेको छ । आज अपी पावरको सर्वाधिक कारोबार भएको छ । यसको २१ करोड बढीको सेयर किनबेच भएको छ । त्यस्तै, नेशनल हाइड्रो १७ करोड र अरुण भ्याली १६ करोडको कारोबार हुँदै शीर्ष तीन कम्पनीमा रहे ।
दोहोरो अंकले घटेको बजारमा आज बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ५.६९ प्रतिशतले घटेको छ । त्यसैगरी, मैलुङ खोला ५ प्रतिशत, सिंगटी हाइड्रो ४.६९, सीईडीबी हाइड्रोपावर ४.०३, शिवश्री हाइड्रोपावर, कालिका पावर, घलेम्दी हाइड्रो, युनाइटेड मोदी, राधी जलविद्युत् र वरुण हाइड्रोपावरको मूल्य साढे ३ प्रतिशतले घटेको छ ।
त्यस्तै, जोशी हाइड्रोपावर, सपोर्ट माइक्रोफाइनान्स, हिमालयन ऊर्जा, खानीखोला, मध्यभोटेकोशीको सेयर भाउ ३ प्रतिशतले घटेको छ । घट्दो बजारमा आज गरुाँस लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै ३.४४ प्रतिशत कमाएका छन् ।