अग्नी जोगाउन चोलेन्द्रलाई बलिको बोको बनाएको लगाए पोखरेलले आरोप

  • प्रकाशित मिति : २०७८ फाल्गुन ३, मंगलवार
  • chhanbin.com

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सभामुख अग्निप्रसाद सापकोटालाई बचाउनका लागि प्रधानन्यायाधीशमाथि महाअभियोग लगाइएको बताएका छन्।

कार्यकर्ता प्रशिक्षण कार्यक्रममा जनकपुरधाम आएका पोखरेलले पत्रकार सम्मेलनको आयोजना गर्दै महाअभियोग ल्याउनुको तीन/चार वटा पक्ष रहेको बताए।

उनले भने, ‘यो बेला न कुबेला महाअभियोग ल्याउनुको तीन/चार वटा पक्ष छ। सभामुख अग्निप्रसाद सापकोटामाथि ज्यान मार्ने उद्योगको मुद्दा चलिरहेको छ। त्यो टाउकोमा झुण्डिएको तरवारजस्तै हो। त्यसबाट नेपाली कांग्रेसलाई डाइभर्ट गर्ने, गठबन्धन कायम गर्न, एमसीसी पास गर्न महाअभियोल लगाइयो’, उनले अगाडि भने, ‘नेकपा एमालेले माधव नेपालसहित १४ सांसदलाई संसदीय दलको बैठकबाट कारबाही गरेर चिठ्ठी पठाइएको थियो। त्यसको आधारमा निष्काशन गर्नुपर्ने थियो। पेशी तोकिएको थियो, त्यसलाई छल्नका लागि, गठबन्धन बचाउन र स्थानीय तहको निर्वाचन धकेल्नका लागि महाअभियोगको नाटक गरियो।’

महाअभियोगले राष्ट्रिय राजनीति थप अस्थिर र अनिश्चित बनेको उनले बताए। षडयन्त्रपूर्वक महाअभियोग ल्याए पनि आफूहरु निर्वाचन कुनै पनि बहानामा सार्न नदिने उनले बताए। पोखरेलले आफूहरु तयार रहेको र सही समयमा सही कदम चाल्ने बताए।

पोखरेलले एमसीसी सम्झौता आफूहरुको पालामा नभएको र अहिले सत्ता गठबन्धन दलसँग १ सय ६५ सांसद रहेकाले एमसीसी पास गर्न सक्ने बताए।