६८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि हुँदा २ ले गुमाए ज्यान

  • प्रकाशित मिति : २०७८ फाल्गुन ३, मंगलवार
  • chhanbin.com

नेपालमा थप ६८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा एन्टिजेन र पीसीआर प्रविधिबाट देशभर ७ हजार ९५ नमूनाको परीक्षण हुँदा मंगलबार ६८० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

गत २४ घण्टामा ४ हजार २५६ जनाको पीसीआर र २ हजार ८३९ जनाको एन्टिजेन परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणको तथ्याङ्कमा एसएमएस र ईमेलबाट प्राप्त नतिजाको विवरण समेत समावेश गरिएको छ।

पीसीआर परीक्षणबाट ४९८ जनामा र एन्टिजेन परीक्षणबाट १८२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ।

गत २४ घण्टाको अवधिमा देशका विभिन्न ठाउँमा गरि २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ९०२ पुगेको छ। मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न ठाउँमा गरि १ हजार ८३५ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन्। देशभर हाल १९ हजार ४०० जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ।