प्रचण्ड र माधव संग कानेखुसी गरेपछि देउवाले हाने सभामुखलाई फोन, यसरी टेबल हुँदैछ एमसीसी

  • प्रकाशित मिति : २०७८ फाल्गुन ३, मंगलवार
  • chhanbin.com

सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूबीच मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता अघि बढाउने विषयमा छलफल भएको छ ।मंगलवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका नेता माधव नेपालबीच छलफल भएको थियो ।

छलफलमा एमसीसी र प्रधानन्यायाधीशविरुद्धको महाभियोगबारे नेताहरूबीच मुख्यगरी छलफल भएको बताइएको छ ।नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा प्रचण्ड र नेपालसँग छलफलपछि मात्रै कांग्रेसको संसदीय दलको बैठकमा सहभागी हुन गएका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन ४ गते बस्ने प्रतिनिधि सभाको बैठकमा एमसीसी पेश गर्ने तयारी गरेका छन् ।

एमसीसी अघि बढाउने बारेमा प्रचण्ड र नेपाल लचक भएको बताइएको छ । सोमवार सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठकमा उनले पनि एमसीसी अघि बढाउन अवरोध नगर्ने संकेत गरेका थिए । एमसीसी अघि बढाउनेबारे दुई नेता सकारात्मक भए कसरी अघि बढाउने भन्नेबारे टुंगो लागिनसकेकाले नेताहरू छलफलमै रहेको उनीहरूको सचिवालय स्रोतले बताएको छ ।

प्रधानमन्त्री देउवाले नेपाली काँग्रेसको संसदीय दलको बैठकबीचमै सभामुख अग्निप्रसाद सापकोटालाई फोन गरेर कार्यव्यवस्था समितिको बैठक बोलाउन आग्रह गरेका छन् । भोलिका तय भएको प्रतिनिधि सभाको बैठक बस्न अघि कार्यव्यवस्था समितिको बैठक बस्ने सुरसार नदेखिएपछि काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले सभामुखलाई फोन नै गरेर बैठक बोलाउन आग्रह गरेका हुन् ।