जीवन बीमा कम्पनीको नाफामा ठूलो गिरावट आएको छ । चालु आर्थिक वर्षको ६ महिना (साउन–पुस) मसान्तम्म जीवन बीमा कम्पनीको खुद नाफा करिब १९.६५ प्रतिशतले घटेको हो ।
चालु वर्षको पुस मसान्तसम्म जीवन बीमा कम्पनीहरुले खुद नाफा १ अर्ब ९७ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । गत वर्षको सोही अवधिमा कम्पनीहरुले खुद नाफा २ अर्ब ४६ करोड २६ लाख रुपैयाँ आर्जन गर्न सफल भएका थिए । समीक्षा अवधिमा जीवन बीमा कम्पनीहरुको नाफा ४८ करोड ४१ लाख रुपैयाँले घटेर १ अर्ब ९७ करोड ८५ लाख रुपैयाँमा सीमित भएको हो ।
बीमा कम्पनीले कमाएको नाफाबाट ठूलो रकम प्रोभिजनिङमा राख्नुका साथै कम्पनीहरुको खर्च वृद्धि हुँदा नाफा घटेको बीमा समितिका प्रवक्ता एवंम् कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।
‘कम्पनीहरुको खर्चमा वृद्धि भएको छ, केही रकम प्रोभिजनिङमा राख्नुपर्छ त्यसले पनि नाफा घटेको हुनसक्छ,’ पौडेलले भने । जीवन बीमा कम्पनीको दाबी भुक्तानी बढ्नुका साथै व्यावसाय विस्तारमा कमी आउँदा नाफामा समेत गिरावट आएको हो । संञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनी मध्ये ९ जीवन बीमा कम्पनीको नाफा घटेको छ भने १० कम्पनीले बढाएका छन् । आक्रमक व्यवसाय विस्तार गरिरहेका नयाँ जीवन बीमा कम्पनीहरुले नाफा आर्जनमा पुराना कम्पनीहरुलाई टक्कर दिएका छन् ।
समीक्षा अवधिमा रिलायबल लाइफ इन्स्योरेन्स सबैभन्दा बढी नाफा कमाउने जीवन बीमा कम्पनी बनेको छ । यसले पुस मसान्तसम्म १८ करोड ५ लाख रुपैयाँ नाफा कमाएको छ । यस्तै, सरकारी स्वामित्वको राष्टिय बीमा कम्पनीले सबैभन्दा कम नाफा कमाएको छ । यसले चालु आवको ६ महिनामा ३ करोड खुद नाफा कमाएको छ ।
नेपाल लाइफको नाफामा ब्रेक
नेपाली जीवन बीमा कम्पनीमा वर्षौंदेखि वर्चश्व कायम राख्दै आएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको नाफामा उच्च गिरावट आएको छ । चालु वर्षको पुस मसान्तसम्म सबैभन्दा धेरै नाफा घट्ने बमिा कम्पनीमा नेपाल लाइफ इन्स्यारेन्से शिर्ष स्थानमा रहेको छ । कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार गत वर्षको तुलनामा ६९.६४ प्रतिशतले नाफा घटेको हो ।
गत वर्ष पुस मसान्तसम्म ४२ करोड ९७ लाख रुपैयाँ खुद नाफा कमाएको लाइफ इन्स्योरेन्स कम्पनीकोे समीक्षा अवधिमा २९ करोड ९२ लाख रुपैयाँले नाफा घटेर १३ करोड रुपैयाँमा सीमित भएको छ ।
सानिमा लाइफको छलाङ
समीक्षा अवधिमा सबैभन्दा धेरै नाफा वृद्धि गर्ने जीवन बीमा कम्पनीमा सानिमा लाइफ इन्स्योरेन्स शिर्ष स्थानमा रहेको छ । आक्रमक व्यवसाय विस्तार गरिरहेको यस कम्पनीले पुराना कम्पनीहरुलाई टक्कर दिँदै नाफामा छलाङ हानेको हो । चालु वर्षको ६ महिनामा सानिमा लाइफको नाफा ६९.३६ प्रतिशतले वृद्धि भएको छ ।
जबकि नेपाली जीवन बीमा कम्पनीको लिडर मानिने नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको नाफामा त्यत्ति नै गिरावट आएको छ । गत वर्षको समीक्षा अवधिको तुलनामा सानिमाले ३ करोड ८४ लाख रुपैयाँले आफ्नो नाफा बढाएको हो । कम्पनीले गत वर्षको पुस मसान्तसम्म खुद नाफा ५ करोड ५४ लाख रुपैयाँ आर्जन गरेकोमा यस वर्षको सोही अवधिमा ९ करोड ३९ लाख रुपैयाँ नाफा कमाएको छ ।
नाफा घट्नेमा अधिकांश पुराना कम्पनी
नाफा घट्नेमा अधिकांश पुराना जीवन बीमा कम्पनीहरु रहेका छन् । चालु आवको पुस मसान्तसम्म कुल जीवन बीमा कम्पनी मध्ये ९ वटाको नाफा घटेको छ ।सोमध्ये ८ वटा पुराना कम्पनी रहेका छन् । सबैभन्दा धेरै नेपाल लाइफ इन्सयोरेन्स कम्पनीको नाफामा गिरावट आएको छ । दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै घटेको छ ।
यस कम्पनीको नाफा गत वर्षको समीक्षा अवधिको तुलनामा ३९.०३ प्रतिशतले घटेर २३ करोडबाट १४ करोड रुपैयाँमा सीमित भएको हो ।
यसैगरी, मेटलाइफको नाफा ३६.४१ प्रतिशत, लाइफ इन्स्योरेन्स कर्पोरसन कम्पनीको नाफा ३३.५१ प्रतिशतले गिरावट आएको छ । गतवर्षको पुस मसान्तसम्म ११ करोड खुद नाफा आर्जन गरेको यस कम्पनीको घटेर ७ करोड रुपैयाँमा सीमित भएको छ ।
प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको नाफा २३.४२ प्रतिशतले घटेर ६ करोडमा सीमित भएको छ । यस कम्पनीले गत वर्षको सोही अवधिमा ८ करोड रुपैयाँ नाफा कमाएको थियो । सूर्य लाइफको नाफा २२ प्रतिशतले घटेर १५ करोडमा सीमित भएको छ भने एसियन लाइफको नाफा १८ प्रतिशतले घटेर १४ करोड रुपैयाँमा सीमित भएको छ ।
यसैगरी, प्राइम लाइफको १० प्रतिशतले घटेको छ भने गुँरास लाइफको ६.१८ प्रतिशतले खुद नाफामा गिरावट हाएको छ ।
कुनले कति नाफा कमाए ?
चालु वर्षको पुस मसान्तसम्म सबैभन्दा धेरै नाफा कमाउने जीवन बीमा कम्पनीमा रिलायबल जीवन बीमा कम्पनी रहेको छ । यस कम्पनीले समीक्षा अवधिमा १८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा उक्त कम्पनीले १७ करोड खुद नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा चालु वर्षमा रिलायबलको नाफा १.४४ प्रतिशतले बढेको छ ।
दोस्रोमा धेरै नाफा कमाउने जीवन बीमा कम्पनीमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । यस कम्पनीले चालु वर्षको ६ महिनामा खुदनाफा १७ करोड ४२ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १९ करोड ३६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
यसैगरी, सूर्यलाइफ इन्स्सयोरेन्स कम्पनी सबैभन्दा धेरै नाफा कमाउने जीवन बीमा कम्पनी मध्ये शिर्ष तीन स्थानमा रहेको छ । समीक्षा अवधिमा यस कम्पनीले खुद नाफा १५ करोड ६६ लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीले गत वर्षको सोही अवधिमा २० करोड १२ लाख रुपैयाँ कमाएको थियो ।
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले यस अवधिमा खुद नाफा १४ करोड,एसियन लाइफले १४ करोड ४२ लाख, ज्योति लाइफ र नेपाल लाइफले १३/१३ करोड रुपैयाँ नाफा कमाएका छन् ।
यसैगरी, सिटिजन लाइफले ११ करोड,मेट लाइफले १० करोड, सानिमा लाइफले ९ करोड,सन नेपालले ८ करोड,युनियन, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल, आइएमई लाइफ, गुराँस लाइफले ७/७ करोड रुपैयाँ खुद नाफा कमाएका छन् ।
सबैभन्दा कम नाफा कमाउनेमा सरकारी स्वामित्वको राष्ट्र्रिय विमा संस्थान रहेको छ । सचालु वर्षको ६ महिनामा यस कम्पनीले ३ करोड खुद नाफा आर्जन गरेको छ । कम्पनीले गत वर्षको सोही अवधिमा २ करोड ६७ लाख रपैयाँ खुद नाफा कमाउको थियो ।यसैगरी, प्रभुलाइफले ६ करोड र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले ५ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।