सभामुख अग्नितप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक सकिएको छ। सिंहदरबारमा बसेको सर्वदलीय बैठक करिब ४ घण्टासम्म चलेको जानकारी सभामुख सापकोटाले दिएका छन्।
सापकोटाले आजको बैठकमा सदनलाई सुचारु गराउने र छलफल अघि बढाउनेबारे कुरा भएको बताए। यो बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले उपस्थित भएन। एमाले उपस्थित नभए पनि कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीसहितले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग र अमेरिकी परियोजना एमसीसीबारे कुराकानी गरेका छन्।
सभामुख सापकोटाले एमसीसीबारे पनि बैठकमा उपस्थित सबै दलका नेताले धारणा राखेको पनि बताए। ‘एमसीसीबारे सबैले धारणा राखेका छन्। सबैका धारणालाई तटस्थ र स्वतन्त्र रुपमा सुनेको छु’, उनले भने, ‘सभामुखका हैसियतले मैले स्वतन्त्र र निष्पक्ष रुपमा निर्णय गर्नुपर्छ।’
उनले एमसीसीबारे घुमाउरो जवाफ दिँदै आफू ‘अम्पायर’ मात्रै भएको उल्लेख गरे। ‘अन्तिममा आउने संसदमै हो। तर सहमतिका साथ आउनुपर्छ भन्ने कुरा हो’, उनले एमसीसीबारे भने, ‘म त ‘अम्पायर’ न हो, निर्णय गर्ने भूमिकामा दलहरु नै छन्।’
बैठकमा एमसीसीबारे बुधबार बस्ने संसदअघि कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफलका लागि लैजाने दिशामा कुरा भएको एकीकृत समाजवादी सांसद जीवनराम श्रेष्ठले बताएका छन्। बैठकपछि बाहिरिँदै एमालेबाट संसदमा भइरहेको अवरोधलाई सांसद श्रेष्ठले गैरकानुनी र अलोकतान्त्रिक भनेका छन्।
‘संसद सार्वभौम सम्पन्न ठाउँ हो। लोकतन्त्रको केन्द्र पनि हो। लोकतन्त्रको मूल्य मान्यताका आधारमा जानुपर्ने हो’, उनले भने, ‘एमालेले संसद अवरोध गरिरहनु गैरकानुनी र अलोकतान्त्रिक हो। गलत कुरामा सधैँ संसदलाई अवरोध गरिरहुन ठीक होइन।’
सांसद श्रेष्ठले यो सर्वदलीय बैठकमा एमसीसीबारे पनि कुरा उठेको बताए। ‘मुख्य मुद्दाका रुपमा एमसीसी र महाअभियोगबारे कुरा भएन। मुख्य विषय त संसद सुचारू गर्ने नै हो’, उनले भने, ‘तर सर्वदलीय छलफलमा एमसीसीबारे कुरा उठेका छन्। सहमति बनाएर संसदमा लैजाने भन्ने भएको छ।’