सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको ‘सर्वदलीय’बैठक सिंहदरबारमा सुरु भएको छ। बैठक सिंहदरबारस्थित अर्थ समितिको हलमा जारी छ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव, संसद्को अवरोध लगायतका विषयमा छलफल गर्न सभामुखले बैठक आह्वान गरेका थिए। तर, बैठकमा प्रमुख प्रतिपक्ष एमाले भने अनुपस्थित छ। बैठकका विषयमा आफूहरूसँग कुनै सरसल्लाह नभएकाले सहभागी नहुने एमाले प्रमुख सचेतक विशाल भट्टराईले बताएका थिए।
‘हामीसँग कुनै सरसल्लाह गरिएको छैन। सभामुखले यसअघि बोलाएका कुनैपनि बैठकमा हामी सहभागी भएका छैनौं। आज पनि हुँदैनौं’, भट्टराईले भनेका थिए।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध संसद्मा महाभियोग प्रस्ताव दर्ता भएसँगै पछिल्ला राजनीतिक घटनाक्रमको विषयमा छलफलका लागि सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएको उनका प्रेस संयोजक श्रीधर न्यौपानेको भनाइ छ। ‘समसायिक विषयमा छलफल गर्न सभामुखज्यूले बैठक बोलाउनुभएको हो,’ न्यौपानेले भने।
आइतबार सत्तारुढ दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका ९८ जना सांसदहरुले प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग दर्ता गरेका छन्। अर्कोतिर, गत भदौदेखि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् अवरुद्ध गर्दै आएको छ। एमसीसीसँगको सम्झौतालाई सदनबाट अनुमोदन गर्ने विषयमा पनि दलहरु विभाजित छन्।