प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संघीय संसद्मा महाभियोग प्रस्ताव दर्ता भएको छ। ९८ जना सांसदले आइतबार प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका हुन्।
सांसदहरुको हस्ताक्षर लिएर कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूसहित सत्तारुढ दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदहरु संसद् सचिवालय पुगेका थिए।
संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार ३ जना प्रस्तावक र ९५ जना समर्थक सांसदको हस्ताक्षरसहित प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको छ।
गठबन्धनले प्रधानन्यायधीशविरुद्ध २१ बुँदे अभियोग लगाएको छ । अभियोगपत्रमा कांग्रेस सचेतक पुष्पा भुसाल, नेकपा माओवादी केन्द्रका सचेतक देव गुरुङ र नेकपा एकीकृत समाजवादीका सांसद जीवनराम श्रेष्ठले प्रस्ताव गरेका छन् भने उक्त प्रस्तावमा ९८ सांसदको हस्ताक्षर छ । उनीहरूले प्रधानन्यायधीशविरुद्ध लोकतन्त्र, मानवअधिकार, जनताको न्याय‚ विधिको शासन, संवैधानिक सर्वोच्चता एवम् स्वतन्त्र निष्पक्ष र जिम्मेवार न्यायलयको जगेर्ना गर्न वर्तमान प्रधानन्यायाधीश अक्षम रहेको आरोप लगाएका छन् ।
त्यस्तै, प्रधानन्यायधीशले सर्वोच्च अदालत र न्यायलयभित्रै निजको कार्यकालमा अतिशय विकृति विसंगति तथा भ्रष्टाचार तथा विचौलियाहरूले प्रवेश पाएको र विकृति बढाउँदै लगेको आरोप लगाएका छन् ।