शिक्षकलाई निजामति कर्मचारी सरहको सुविधा दिने भएपछी माग पूरा भएको शिक्षामन्त्रीले गरे दाबी

  • प्रकाशित मिति : २०७८ माघ २९, शनिबार
  • chhanbin.com

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले अर्कोवर्ष देखि माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रदेशस्तरमा सञ्चालन हुने बताएका छन् । हाल राष्ट्रय परीक्षा बोर्डमार्फत संघीयस्तरमा सञ्चालन हुँदै आएको एसईई अर्को वर्ष प्रदेशस्तरका बोर्डमार्फत सञ्चालन हुने उनको भनाइ थियो ।

शिक्षा पत्रकार समूहले बुझाएको शिक्षा सुधारसम्बन्धी सुझाबपत्र बुझ्दै मन्त्री पौडेलले ऐन नआउँदा यसै वर्ष एसईई प्रदेशमा हस्तान्तरण गर्न नसकिएको बताए । उनले भने, ‘हामी यसैवर्ष प्रदेशलाई दिने तयारीमा थियौं । केही कानुनी जटिलताले गर्दा रोकियौं । अर्को वर्ष ऐनमै व्यवस्था गरेर प्रदेशलाई हस्तान्तरण हुन्छ ।’

मन्त्री पौडेलले खुला विश्वविद्यालय, राष्ट्रिय परीक्षा बोर्ड लगायतमा खुला प्रतिस्पर्धाबाट नेतृत्त्व छनोट गरिसकिएको र अन्त पनि राजनीतिक हस्तक्षेप बिनै नेतृत्व छनोट गरिने प्रतिबद्धता जनाए । शिक्षक महासंघका करिब करिब सबै माग पूरा गर्ने प्रक्रिया सुरु भएको भन्दै अब शिक्षकलाई पेसाप्रति जिम्मेवार र उत्तरदायी बनाइने बताए । शिक्षकलाई निजामति कर्मचारी सरहको सुविधा, ७ सय शश्याको शिक्षक अस्पताललगायतका माग सम्बोधन गरिएको उनको भनाइ थियो ।

यस्तै सातै प्रदेशमा मेडिकल कलेज, सबै स्थानीय तहमा प्राविधिक शिक्षालयको विस्तार गर्ने प्रक्रिया सुरु भइसकेको साथै भएका विश्वविद्यालयहरुको वर्गीकरण गरी प्रदेशमा हस्तान्तरण गर्न लागिएको मन्त्री पौडेलले बताए । विद्यालयलाई राजनीतिक मुक्त बनाइने र शिक्षकको दलीय आबद्धतामा रोक लगाइने उनको भनाइ थियो ।

शिक्षा पत्रकार समूहका तर्फबाट अध्यक्ष तुला अधिकारी, उपाध्यक्ष कृष्ण मल्ल, महासचिव जनक नेपाल, सचिव रोशन क्षेत्री गाउँले, कोषाध्यक्ष ममता थापा र पूर्वअध्यक्ष सुदर्शन सिग्देलसहितको टोली शिक्षा मन्त्रालय पुगेको थियो ।