एमसीसीबारे ‘झिल्केमिल्के’ कुरा गरेर प्रचण्डले आफुलाई आफै पत्रु बनाएको लाग्यो आरोप

  • प्रकाशित मिति : २०७८ माघ २९, शनिबार
  • chhanbin.com

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीबारे दूर्भाग्यपूर्ण अभिव्यक्ति दिने गरेको बताएका छन्।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका वरिष्ठ उपाध्यक्ष पोखरेलले जनतालाई अलमल्याउने गरी एमसीसीबारे ‘झिल्केमिल्के’ कुरा गरेर देशलाई गम्भिर नोक्सान पुर्याउने काममा अध्यक्ष दाहाल लागिपरेको बताए।

शनिबार काठमाडौं महानगरपालिका वडा नम्बर ४ मा निर्माण गरिएको धुम्बाराही पार्कको उद्घाटन गर्दै उनले अध्यक्ष दाहालले एमसीसीबारे विदेशीसँग एउटा कुरा, कार्यकर्तासँग अर्को कुरा र जनतासँग बेग्लै कुरा गरेको आरोपसमेत लगाए। वरिष्ठ उपाध्यक्ष पोखरेलले राजनीतिक पार्टीका नेताहरुले देश र जनताको हित विपरित हुने यस्ता खालका गतिविधिले समाजमा झनै विकृति बढनेतर्फ पनि सचेत गराए।

वरिष्ठ उपाध्यक्ष पोखरेलले सार्वजनिक सम्पत्तिहरु अतिक्रमण हुन नदिन र त्यसको सदूपयोग हुनेगरी अघि बढाउन स्थानीय तहहरुले जनचेतनामूलक कार्यक्रम संचालन गर्नुपर्ने आवश्यक्ता औंल्याए।