कमल थापाले दर्ता गर्न लागेको पार्टीले पनि स्थानीय तहको चुनावमा भाग लिने

  • प्रकाशित मिति : २०७८ माघ २८, शुक्रबार
  • chhanbin.com

राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री कमल थापाको नयाँ पार्टीले गणतन्त्र स्वीकार्ने भएको छ । नयाँ पार्टी खोल्ने निर्णय गरेर पूर्वी नेपालको भ्रमणमा रहेका थापाले शुक्रबार सुनसरीको इटहरीमा सञ्चारकर्मीसँग कुरा गर्दै यसै साता नयाँ पार्टी दर्ता हुने बताए ।

नयाँ दलले बदलिँदो राजनीतिक परिस्थितिमा संविधानले स्थापित गरेका मूल्य-मान्यताबमोजिम जनभावना अनुरूप क्रियाशील हुने उनको भनाइ छ । थापाले संविधानले स्थापित गरेको मूल्य मान्यता अन्तर्गत संघीयता र गणतन्त्र मान्ने स्पष्ट पारेका हुन् । यद्यपि उनको नयाँ पार्टीले हिन्दु राष्ट्रलाई मुख्य एजेण्डा बनाएको छ । धर्मनिरपेक्षताविरुद्ध उनको पार्टी उभिनेछ ।

नेता थापाले नयाँ गठन हुने पार्टीले आसन्न स्थानीय तहको निर्वाचनमा भाग लिने स्पष्ट पारे । सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेको छ । निर्वाचन आयोगले भने राष्ट्रिय दललाई मात्र चुनाव चिन्ह दिने बताउँदै आएको छ ।

पत्रकार सम्मेलनमा सुनसरीबाट निर्वाचित केन्द्रीय सदस्य इनु अधिकारी, शंकर गाउँले थापा, राप्रपा प्रदेश १ का पूर्वसचिव गणेश दुलाल, खेम ओझा, विजय राउतलगायत प्रदेश कार्यसमिति र विभिन्न स्थानीय तहका कार्यसमिति पदाधिकारी तथा सदस्यहरुको सहभागिता थियो ।

यसअघि थापा राप्रपाका जिल्ला अध्यक्ष दुर्गाबहादुर बस्नेतको निमन्त्रणामा इटहरीस्थित बस्नेत-निवासमा आयोजित सप्ताह पुराण श्रवण गर्न आज बिहानै काठमाडौंबाट इटहरी पुगेका थिए ।