‘पीयू टपर’ले निजामति सेवामा प्रवेश गरेको दश बर्ष नपुग्दै उपसचिवमा यसरी निकालिन् नाम

  • प्रकाशित मिति : २०७८ माघ २८, शुक्रबार
  • chhanbin.com

गन्तव्य पहिचान नगरी भौतारिएका युवाका लागि आदर्श पात्र हुन् विमला पौड्याल । पौड्याल नेपाल कानून आयोग नयाँ बानेश्वर, काठमाडौंमा उपसचिव पदमा कार्यरत छिन् ।

कानून समूहबाट राजपत्रांकित द्वितीय श्रेणी (उपसचिव) पदमा खुला प्रतिस्पर्धाबाट आउने महिला हालसम्म धेरै कम छन् । त्यसमध्ये पर्छिन् विमला । विमला निजामती सेवामा ढिलो प्रवेश गरिन् तर छिटो छलाङ मारिन् । प्राध्यापन पेशाबाट निजामतीतर्फ लाग्ने गरी सोच बदलेर २०६८ सालदेखि लोकसेवा तयारीमा जुटेकी विमला ९ वर्षमै खुला प्रतिस्पर्धाबाट उपसचिव पदमा पुगेकी छन् ।

‘सफलताका लागि निरन्तर र नियमित रूपमा संघर्ष र मेहनत आवश्यक पर्छ,’ उपसचिव पौड्याल भन्छिन्, ‘इच्छाशक्तिका साथ समय व्यवस्थापन गरेर निरन्तर अध्ययन गर्नेलाई निजामती सेवा प्रवेशमा गाह्रो छैन ।’

उपसचिव विमलाको व्यक्तित्व अग्लिँदो छ । उनले एउटा अब्बल र इमान्दार राष्ट्रसेवक कर्मचारीको रूपमा आफ्नो परिचय बनाएकी छन् ।

गुल्मीको मालिका गाउँपालिका–८ (साविक मरभुङ गाविस) मा विक्रम संवत् २०३७ सालमा सामान्य परिवारमा जन्मिएकी विमला विद्यालय तहदेखि नै पढाइमा अब्बल थिइन् । उनी सधैं प्रथम श्रेणीमा उत्तीर्ण हुन्थिन् । २०५३ सालमा उनले गाउँको सामुदायिक स्कूल मालिका माविबाट तत्कालीन एसएलसी प्रथम श्रेणीमा उत्तीर्ण गरिन् । विद्यालयबाट ५ जना प्रथम श्रेणीमा उत्तीर्ण भएकामा छात्रातर्फ ‘फस्ट डिभिजन’ ल्याउने विमला मात्र थिइन् ।

उनले अंग्रेजी मूल विषय लिएर उच्च शिक्षा अध्ययन शुरू गरिन् । आईए रेसुङ्गा बहुमुखी क्याम्पस तम्घासबाट उत्तीर्ण गरिन् । स्नातक तर्फको पढाइ अगाडि बढाउँदा उनले अध्ययनसँगै अध्यापन शुरू गरिन् । तम्घासको अर्जुन बोर्डिङ स्कूलमा पढाउँदै उनले आफ्नो पढाइलाई अगाडि बढाइन् । बीए पनि ‘रेगुलर’ उत्तीर्ण गरेपछि उनको विवाह भयो गुल्मीको मदाने गाउँपालिका (साविक न्यालपोखरी गाविस) का नारायणसेन वलीसँग ।

वली नेपाल टेलिकम काठमाडौंमा जागिरे थिए । विमला पनि विवाहपछि काठमाडौं गइन् । विमलाको नयाँ घर पनि उदाहरणीय पर्‍यो, पढाइको महत्त्व बुझेको । घरपरिवारसँगै बसेर एमए पढिन् । राम्रो अंक ल्याएर उत्तीर्ण भइन् । त्यहीँ बेला उनको छोरा जन्मियो । छोरो हुर्काउँदै उनले बाँकी रहेको ‘थेसिस’ र १ वर्षे बीएड पूरा गरिन् । त्यसपछि उनको प्राध्यापन यात्रा शुरू भयो । बुढानिलकण्ठ कलेजदेखि विभिन्न ‘प्लस टु’ र स्कूलमा पढाउन थालिन् उनी । फेरि उनलाई कानून विषय पढ्ने रूचि बढ्यो । एलएलबीमा भर्ना गरिन् ।

घरपरिवार र आफन्तले जतिखेरै दौडधुप गरिराख्नुपर्ने शिक्षण पेशा चुनौतीपूर्ण मानेका थिए । धेरै समय दौडधूप गर्नुभन्दा निजामती सेवातर्फ लाग्न उनलाई आफन्तले आग्रह गरे । आफन्तहरू पनि परराष्ट्र र स्वास्थ्य सेवामा थिए । पढाउन हिँडिरहनुपर्ने चुनौतीपूर्ण पेशाभन्दा सरकारी अधिकृत बन्नुपर्छ भनेर धेरैले सुझाएपछि विमलाको मनस्थिति पनि निजामतीतर्फ मोडियो ।

सबैको आग्रह र सल्लाहअनुसार विमला आफू पनि निष्कर्षमा पुगिन् – अब निजामतीतर्फ लाग्छु । छोरा पनि स्कूल जाने भइसकेका थिए । परराष्ट्र सेवातर्फ लाग्ने भनेर २०६८ सालबाट शाखा अधिकृतको तयारी थालिन् । खुलातर्फ ‘प्री–टेस्ट’ हुने भएकाले त्यो विज्ञापन उनको लागि छुटिसकेको थियो । समावेशी (महिला) तर्फ आवेदन भनिन् ।

पढाइ शुरू गरेको ४–५ महिना मात्र भएकाले शुरूमा नाम निकाल्न सकिनन् । अर्को वर्ष खुलेका सबै विज्ञापनमा आवेदन भरिन् । नेपाल आयल निगममा पाँचौ तहमा नाम निकालिन् । २ वर्ष आयल निगममा जागिरसँगै एलएलबीको पढाइ पनि पूरा गरिन् ।

फेरि उनले फड्को मार्ने क्रम शुरू भयो । न्याय सेवातर्फ २०७२ सालमा शाखा अधिकृत र न्याय सेवा र प्रशासन सेवा दुवैमा नाम निकालिन् । न्याय समूहमा छनौट भइन् । उनको पहिलो ‘पोस्टिङ’ उच्च अदालत बुटवलमा भयो । ५ महिना बुटवलमा काम गरिन् । त्यसपछि सर्वोच्च अदालतमा काज सरुवा भयो । सर्वोच्च अदालतको इजालसमा बसेर २ वर्ष अधिकृतको रूपमा काम गरिन् । त्यो बेला आफूले १५० भन्दा बढी फैसला लेखेको विमला सुनाउँछिन् ।

सर्वोच्चमा कार्यरत रहँदा उनले फरक–फरक न्यायाधीशसँग काम गर्ने अवसर पाउँदा धेरै अनुभव पनि बटुलिन् । २०७७ सालमा उपसचिव पदका लागि न्याय, सरकारी वकिल र कानून समूहमा एकसाथ लोकसेवा लडेकी विमला ३ वटै समूहमा एकसाथ नाम निकाल्न सफल भइन् । कानून समूहमा १ मात्र सीट थियो, त्यहीँ कानून समूहको १ मात्र सीटमा उनले नाम निकालिन् । भन्छिन्, ‘कानून समूहमा १ पदका लागि ११ जनाले लिखित परीक्षामा नाम निकालेका थिए । अन्तिममा अन्तर्वार्तापछि म नै छनौट भएँ ।’

उनले कहिल्यै पनि आरक्षण सीट उपयोग गर्नुपरेन । कानून उपसचिवको रूपमा उनको पहिलो ‘पोस्टिङ’ लुम्बिनी प्रदेशसभा सचिवालयमा भयो । बुटवलमा रहँदा उनले कानून उपसचिवसँगै सहप्रवक्ता र सूचना अधिकारीको रूपमा काम गरिन् । प्रदेश सभासँगै आन्तरिक मामिला तथा कानून मन्त्रालयमा कानून महाशाखा प्रमुखको रूपमा पनि काम गरिन् उनले ।

झण्डै १ वर्ष प्रदेश सभामा काम गरेकी विमलाको हालै कानून आयोगमा सरूवा भएको छ । अहिले नेपाल कानून आयोगमा उपसचिवको हैसियतमा रहेर काम गरिरहेकी छन् । सहसचिव प्रथम श्रेणीमा आन्तरिकबाट प्रतिस्पर्धा गर्न उनको योग्यता अझै पुग्दैन । त्यसका लागि उपसचिव भएको ५ वर्ष पुग्नुपर्छ । लोकसेवाले सहसचिवमा कानून र न्याय समूहतर्फ खुला विज्ञापन एकदमै कम गर्छ ।

तैपनि उनी सहसचिवको तयारीमा छिन् । उनी सहसचिवसँगै नेपाल सरकारको मुख्यसचिव बन्ने लक्ष्यका साथ अगाडि बढेकी छन् । त्यसै न्याय सेवाबाट उच्च अदालतको न्यायाधीश बन्ने बाटो पनि विमलाका लागि खुला छ । यसबीचमै उनले कानून संकायबाट स्नातकोत्तर (एलएलएम) उत्तीर्ण मात्र गरिनन्, ‘ब्याच टप’ भइन् । पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत एलएलएम स्न २०१६–२०१८ को ‘ब्याच टप’ गरेकी हुन् उनले । ‘पीयू टपर’ विमला ‘गोल्ड मेडल’ पाउने तयारीमा छिन् ।

निरन्तरको लगाव, कर्मप्रतिको झुकाव, सकारात्मक चिन्तन लिएर अघि बढ्ने हो भने जीवनमा एकपछि अर्काे सफलता मिल्दै जाने विमलाको अनुभवले बताउँछ । उनी लप्पन–छप्पन जान्दिनन् । जनताको काम हुनुपर्छ, राष्ट्रलाई ठग्नुहुन्न भन्ने मान्यता बोकेकी छन् उनले । ‘जसले एउटा लक्ष्य लिएर ‘सपना’ देख्छ, त्यो व्यक्ति सफल पनि हुन्छ । सफलताका लागि लगाव, मेहनत र दृढता आवश्यक पर्छ,’ विमला भन्छिन् ।

विवाहित महिलालाई सफल बनाउन पतिको महत्त्वपूर्ण भूमिका हुने मान्यता विमलाको छ । उनी आफूले पाएको सफलताको पहिलो जस आफ्ना पति र घरपरिवारलाई दिन्छिन् । विमलाले भनिन्, ‘श्रीमान् र घरपरिवारले मनैदेखि सपोर्ट गर्नुभयो । गाउँमा हुर्किएकी चेली सबै क्षेत्रको अनुभव बटुल्दै ‘सरकारी अफिसर’ बनें ।’

उमेरले ४० टेकेकी विमला भन्छिन्, ‘सरकारी सेवामा किन जाँदैछु भन्ने कुरामा भ्रममा नपरी राष्ट्र सेवामा जाँदैछु भन्ने बुझाइ हुनुपर्छ । सरकारी सेवामा निहीत गुण हुन्छन्, त्यसैमा सन्तुष्टि लिनेछु भन्ने प्रस्ट हुनुपर्छ । कडा प्रतिस्पर्धा हुन्छ भनेर डराउने होइन । १ सीट भए भइहाल्यो, त्यो मेरो लागि हो भनेर मेहनतका साथ तयारी गरे सफल भइन्छ ।’ त्यसको लागि समय व्यवस्थापन महत्त्वपूर्ण हुने उनको भनाइ छ । विमलाको परिवार अहिले काठमाडौंमा बस्दै आएको छ ।