कांग्रेसको १४औं महाधिवेशनपछि पुनः कार्यकाल दोहोर्याउँदै पार्टी सभापतिमा शेरबहादुर देउवा निर्वाचित भए । दोस्रो चरणमा शेखर कोइरालालाई पराजित गर्दै देउवा सभापति बने ।
देउवा सभापति बनेपछि कोइरालाले फोनमार्फत् देउवालाई बधाई तथा शुभकामना दिए । तर, उनीहरूबीच केन्द्रीय कार्यसमिति बैठकबाहेक अन्य स्थानमा छलफल पनि हुन सकेको छैन । यो बीचमा कोइरालाले देउवा भेट्न चाहेका थिए, पार्टीभित्रका गतिविधि र सरकार सञ्चालनका सम्बन्धमा कुराकानी गर्न चाहेका थिए तर देउवा पटक्कै इच्छुक छैनन् । बुधबार भेट्ने भनिए पनि अन्तिम समयमा आएर भेट हुन सकेन ।
तर, पछिल्लो दुई दिनमा नेपाली कांग्रेसका नेता शेखर कोइराला प्रमुख राजनीतिक दलका नेताहरूसँग भेटर्वार्तामा व्यस्त छन् । मंगलबार साँझ नेता कोइरालाले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरे ।
यस्तै बिहीबार बिहान सत्ता गठबन्धनमा रहेको दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग कोइरालाको भेट भयो ।कोइरालाले दुबै भेटमा वर्तमान राजनीतिक परिस्थितिको विषयमा छलफल गरेका थिए । त्यतिमात्रै नभएर दुवै नेतासँग देउवाले लिइरहेको लाइनविपरीत आफ्ना धारणा राखेका थिए ।
अध्यक्ष दाहालसँग माओवादी केन्द्रका कार्यकर्ताले कांग्रेसलाई मतदान नगर्ने हुँदा आगामी निर्वाचनमा गठबन्धन नगर्न सुझाव दिएका थिए । तर देउवा गठबन्धन जोगाएर जाने तयारीमा छन् ।
उनले यसअघि सार्वजनिकरुपमा नै चुनावपछिसम्म गठबन्धन हुनुपर्ने बताउँदै आएका छन् । विशेषगरेर संसद्को गतिरोध हटाउन, अमेरिकी सहयोग परियोजनाको अन्योललगायतका विषयमा कोइरालाले दुई नेतासँग छलफल गरेका थिए । कोइरालाको सचिवालयका अनुसार संसदको गतिरोध संसद्बाटै अन्त्य गर्नुपर्ने तथा एमसीसी परियोजनाको भुलभुलैया चाडोँ अन्त्य गर्न कोइरालाले दुबै पार्टीका अध्यक्षलाई आग्रह गरेका छन् ।
उनले एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डलाई आसन्न तीनै तहको चुनावमा कांग्रेस गठबन्धनको पक्षमा नरहेको धारणा राखेका छन् । जुन् धारणाको उनको आफ्नै पार्टीबाट समेत विरोध हुन थालेको छ ।
संस्थापन समूह निकट नेताहरू कोइरालाको कदमको आलोचना गर्न थालेका छन् । उनीहरूले कोइरालाको कदम पार्टी हितविपरीत भएको बताएका छन् । विशेष गरेर चुनावी गठबन्धन गर्ने नगर्ने भन्ने कोइरालाले राखेको धारणा पार्टीको पक्षमा नरहेको संस्थापन निकटको ठम्याइ छ । कोइराला निकट नेताहरू भने पार्टीमा संस्थापन पक्षले पेल्ने, भेटसमेत गर्न नचाहने र कोइरालाले गरिरहेको राजनीतिक गतिविधिको भने आलोचना गर्नु शोभनीय नभएको बताउँछन् ।
प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा निकट केन्द्रीय सदस्य मिन विश्वकर्मा पार्टी नेतृत्वसँग तुष साँधेर गतिविधिहरू गरिरहेको तर्क गर्छन् । कोइरालाले महाधिवेशन अगाडिको जस्तै प्रतिष्पर्धा अहिले पनि देखाउन खोजेको बुझाइ विश्वकर्माको छ । अहिले कोइरालाले देखाएको व्यवहार पार्टीको हितमा नभएको उनी बताउँछन् ।
“महाधिवशेनअघि जस्तै आफूलाई फरक देखाउने काम उहाँले गरिरहनुभएको छ । यो पार्टी एकता र हितको पक्षमा छैन,” विश्वकर्मा भन्छन् ।
गठबन्धन चाहिन्छ चाहिँदैन भन्ने अधिकार एक व्यक्तिभित्र नभएको उनको तर्क छ । स्वयम् सभापतिले पनि गठबन्धन गर्ने–नगर्ने विषयमा केन्द्रीय कार्यसमितिमा छलफल गर्नुपर्ने भन्दै सभापतिमा पराजित व्यक्तिलाई झन् अधिकार नभएको तर्क विश्वकर्माको छ ।
“चुनाव जित्नका लागि रणनीति बनाउँदा गठबन्धन गर्ने कि नगर्ने भन्ने हुन्छ । त्यही सल्लाह प्रतिपक्षिसँग गएर गर्नुहुन्छ भने त्यो आत्माघाती हो,” उनी भन्छन्,“उहाँले ठिक ढंगले अघि बढाउनुभएको छैन, यहीँ कुरा कार्यसम्पादनमा राखेर छलफल गरे भइहाल्यो नि !”
नेता कोइरालाले बिहीबार विहान माओवादी अध्यक्ष प्रचण्डसँगको भेटमा चुनावी गठबन्धनमा कांग्रेस जान नसक्ने बताएका थिए । उनले माओवादीले कांग्रेसलाई भोट नहाल्ने भन्दै कांग्रेसले नोक्सान बेहोर्ने गठबन्धनको पक्षमा उभिन आफू तयार नभएको उल्लेख गरेका थिए । प्रचण्डले भने चुनावी गठबन्धन पनि गरेर जानुपर्ने भनेका थिए ।
कोइराला निकट नेताहरू भने भेटभावार्तालाई सामान्य रूपमा बुझ्नुपर्ने बताउँछन् । कोइराला स्वेच्छाले भेट्न गएको नभइ एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डको आग्रहमा भेट्न गएको निकट नेताहरूको तर्क छ । नेता गुरूराज घिमिरे पार्टीहरू एक ठाउँ भएर राष्ट्रिय समस्याहरू समाधान गर्ने, आम चुनाव तोकिएको समयमा सम्पन्न गराउने, संसद् सुचारू गराएर एमसीसी परियोजनाको बहस गराउने विषयमा छलफल गर्दा आपत्ति जनाउन आवश्यक किन भयो भन्दै प्रतिप्रश्न गर्छन् ।
चुनावी गठबन्धन गर्न नहुने विषय धेरै अघिदेखि कोइरालाले उठाएको भन्दै नेता घिमिरे पहिलाको चुनावी गठबन्धन असफल कसरी भयो भन्दै स्मरण गर्न आग्रह गर्छन् ।
“अघिल्लो चुनावको गठबन्धन कसरी असफल भयो, मानिसहरू कसरी आक्रोशित भए । पार्टीका साथीहरूको पनि चुनावी गठबन्धन गरेर जानुहुँदैन भन्ने मनोविज्ञान छ नि ! त्यो कुरा पहिलेदेखि बोलेको हो अहिलेबाट सुरु गरेको होइन,” घिमिरे भन्छन् । घिमिरे पार्टीमा आफूहरूलाई पेलेर एकलौटी निर्णय गर्ने सभापति देउवाले शेखर कोइरालाले अरू दलहरूलाई भेटेको चित्त दुखाउनुपर्ने कुनै आधार नभएको तर्क गर्छन् ।
“निकटतम् प्रतिस्पर्धीलाई भेट्ने इच्छासमेत नदेखाउने । प्रदेश सरकार विस्तार गर्दा पनि एकलौटी गर्ने, केन्द्रीय समिति पनि एकलौटी विस्तार गर्ने अनि कसरी पार्टीले आम चुनाव जित्छ त ?,” उनी भन्छन्, “हाम्रो परम्परा अभ्यास भनेको त पार्टीको प्रतिष्पर्धी समूहसँग कुराकानी गरेर अघि बढ्ने अभ्यास हो । त्यो चाहिँ नगर्ने अनि चित्त दुखाउने भन्ने कुरा मेल खाएन ।”
एउटा राष्ट्रिय नेताले अर्को नेता भेट्दा कसैले चित्त दुखाउनु र टिकाटिप्पणी गर्नुको तुक नभएको बुझाइ घिमिरेको छ। “सभापतिले वास्ता गरेन भनेर राजनीति गर्ने मान्छे कुना पसेर बस्दैन, राजनीतिक क्रियाकलाप अघि बढाइरहन्छ,” उनको तर्क छ ।