कांग्रेस कार्यसम्पादन समितिको पहिलो बैठक केही बेरमै बस्दै

  • प्रकाशित मिति : २०७८ माघ २७, बिहीबार
  • chhanbin.com

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठक आज केहीबेरमै बस्दैछ । सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले महाधिवेशन भएको दुई महिनापछि समितिको गठन गर्दै पहिलो बैठक राखेका हुन् । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा दिउँसो २ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र स्थानीय तहको निर्वाचनको तयारीका विषयमा छलफल हुनेछ ।

त्यस्तै, म्याद सकिएका भ्रातृ एवम् शुभेच्छुक संस्था र अधिवेशन हुन बाँकी १६ जिल्ला कार्यसमितिको अधिवेशनका बारेमा छलफल हुने प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । ‘स्थानीय तह निर्वाचनमा कसरी जाने भन्नेबारे छलफल हुन्छ, त्यस्तै भ्रातृ एवम् शुभेच्छुक संस्थाहरूको व्यवस्थापनको विषयमा समेत बैठकले निर्णय लिनेछ,’ उनले भने ।

पार्टीको विधानअनुसार केन्द्रीय कार्यसमितिकै हैसियतमा काम गर्ने कार्यसम्पादन समिति १४ पदाधिकारी, एक प्रवक्ता र सभापतिबाट मनोनित ३१ सदस्य गरी ४६ सदस्यीय हुन्छ । तर, हाल कार्यसम्पादन समिति ३७ सदस्यीय मात्र छ । सभापति देउवाले १४ माघको केन्द्रीय समिति बैठकमार्फत् आफूले मनोनयन गर्ने ३१ मध्ये २४ केन्द्रीय सदस्यलाई मात्रै कार्यसम्पादन समितिमा मनोनयन गरेका छन् ।

देउवाले नै समितिको सभापतित्व गर्नेछन् भने उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरू फरमुल्लाह मन्सुर, जीवन परियार, भीष्मराज आङ्देम्बे, उमाकान्त चौधरी, महेन्द्र यादव, महालक्ष्मी उपाध्याय डिना, किशोरसिंह राठौर र बद्रीप्रसाद पाण्डे पदेन सदस्य छन् । पार्टीको प्रवक्ता प्रकाशशरण महत समेत समितिमा पदेन सदस्य रहन्छन् ।

यसबाहेक सभापति देउवाले केन्द्रीय सदस्यहरू रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, शशांक कोइराला, चित्रलेखा यादव, रामशरण महत, अर्जुननरसिंह केसी, सुनिलबहादुर थापा, शेखर कोइराला, बलबहादुर केसी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, रमेश रिजाल, नारायण खड्का, जीपछिरिङ लामा, सुजाता कोइराला, एनपी साउद, जीवनबहादुर शाही र आनन्दप्रसाद ढुङ्गानालाई कार्यसम्पादन समितिको सदस्यमा मनोनयन गरेका छन् ।

मंसिरमा भएको १४ औँ महाधिवेशनले १३४ पदमा निर्वाचित गरेको थियो भने त्यसबाहेक सभापति देउवाले १३ नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् । विधानबमोजिम सभापतिका निकटतम प्रत्यासी शेखर कोइराला स्वतः केन्द्रीय सदस्य बनेका छन् भने अब सभापति देउवाले २० जना केन्द्रीय सदस्य मनोनयन गर्न बाँकी छ । सभापति देउवाले केन्द्रीय कार्यसमितिका कोषाध्यक्ष समेत मनोनयन गरेका छैनन् ।