सर्वोच्च अदातलले मधेश प्रदेशमा वैशाख ३० गते स्थानीय तहको चुनाव नगर्न माग गर्दै पेश भएको रिट निवेदन दरपिठ गरेको छ।
संविधानको धारा २१५ र २१६ अनुसार स्थानीय तहमा निर्वाचित पदाधिकारीको कार्यकाल पाँच वर्ष हुने हुँदा उक्त कार्यकाल पुरा भएपछि मात्रै चुनाव हुनुपर्ने माग दाबीसहित महोत्तरीको भंगहा नगरपालिकाका मेयर समृतकुमार साहले दिएको निवेदनलाई सर्वोच्च प्रशासनले दरपिठ गरेको हो।
२०७४ सालमा स्थानीय तहको चुनाव हुँदा तत्काली प्रदेश २ अर्थात् मधेश प्रदेशमा असोज २ गते चुनाव भएको थियो। वैशाख ३० गते नै चुनाव गर्दा धारा २१५ र २१६ अनुसारको पाँच वर्षे कार्यकाल पुरा हुन नपाउने जिकिर निवेदकले गरेका थिए।
तर स्थानीय तह निर्वाचन ऐनले चुनावका बारेमा प्रष्ट पारेकाले त्यसकै आधारमा रिट निवेदन दरपिठ गरिएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए।
उनले भने, ‘स्थानीय तहको चुनाव जति चरणमा भए पनि पहिलोपटक भएको चुनावलाई आधार मान्ने भन्ने कानुनी व्यवस्था भएकाले पहिलोपटक चुनाव भएका ठाउँका पदाधिकारीले पाँच वर्षे कार्यकाल पुरा गर्ने अवस्था देखिएकाले निवेदन दरपिठ गरेका छौँ।’
प्रशासनको निर्णयविरुद्ध निवेदकले इजलासमा निवेदन दिन सक्नेछन्। बुधबार सर्वोच्च प्रशासनले गरेको निर्णयले अदालत वैशाखमा गराउने भनिएको चुनाव रोक्ने पक्षमा नरहेको सन्देश दिएको छ।
सर्वोच्चको दरपिठ आदेशमा भनिएका छ, ‘नेपाल सरकारबाट स्थानीय तह निर्वाचन ऐन, २०७३ दफा ४ (४) मा भएको प्रावधान बमोजिम नेपालका सबै स्थानीय तहको निर्वाचन मिति २०७९/१/३० गते गर्ने गरी निर्णय भएको, स्थानीय तह निर्वाचन ऐन, २०७३ दफा ४(४) मा उपदफा (२) बमोजिम अलग अलग मितिमा सम्पन्न भएको निर्वाचन उपदफा (१) बमोजिम तोकिएको मितिमा सम्पन्न भएको मानिनेछ भन्ने प्रावधान रहेको र उल्लिखित प्रावधान यथावत रहिरहेको अवस्थामा निर्वाचन गर्ने गरी भएको निर्णयले निवेदकको नगर प्रमुखको ५ वर्षको कार्यकाल घटाउने प्रवल सम्भावना रहेको भनी विना आधार प्रस्तुत निवेदन लिई आएको हुँदा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम १८ समेतका आधारमा दर्ता गर्न मिलेन। मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १२८ तथा सर्वोच्च अदालत नियमावली। २०७४ को नियम १८ बमोजिम दरपीठ गरी दिइएको छ।’
वैशाख ३० एकै चरणमा स्थानीय तहको चुनाव गर्ने सरकारको निर्णयप्रति सत्ता गठबन्धनमै रहेका माओवादी केन्द्र र एकीकृत समाजवादी सन्तुष्ट थिएनन्। त्यस्तै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले चुनावको स्वागत गरे पनि त्यहीँ पार्टीका मधेश प्रदेशका प्रमुख जितेन्द्र सोनलले असोज २ पछि मात्रै चुनाव हुनुपर्ने बताएका छन्।